कोकाकोला (बोटलर्स नेपाल तराई लिमिटेड) ले सरकारलाई ७८ करोड कर तिरेको छ । कम्पनीले ठूला करदाता कार्यालयमा ७८ करोड ६ लाख ६८ हजार रुपैयाँ कर तिरेको छ। कर तिरेपछिको सेटलमेन्टको जानकारी ठूला करदाता कार्यालयबाट मंगलबार पत्र आएको कम्पनीले जनाएको छ।
कम्पनीले आर्थिक ऐनको दफा ३० बमोजिम कर तिरेको हो । कम्पनीले तिर्नु पर्ने आयकरको व्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्थाको उपयोग गर्दै कम्पनीले कर तिरेको हो ।
आर्थिक ऐन २०८२ मा ‘ आयकर ऐन, २०५८ को दफा ५७ को उपदफा (१) बमोजिम स्वामित्व परिवर्तन भई करारोपण भइसकेको बासिन्दा निकायको हित रहेको नेपालको अर्को बासिन्दा निकायलाई सो स्वामित्व परिवर्तनको आधारमा संशोधित कर निर्धारण भई वक्यौता रहेको भएमा त्यस्तो निकायले संवत् २०८२ साल आषाढ मसान्तसम्ममा निर्धारित कर रकम दाखिल गरेमा त्यस्तो संशोधित कर निर्धारण बमोजिमको व्याज र शुल्क मिनाहा हुनेछ ।’ भनि उल्लेख गरिएको छ ।













