शार्क ट्यांक नेपालको पहिलो सिजनको पाँचौ एपिसोडमा एउटा व्यवसायले अल शार्क डिल पाएको छ। अर्थात् सबै शार्कहरुले सो व्यवसायमा लगानी गरेका हुन्।
पहिलो सिजनका लागि आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति रहेका शार्कका रुपमा अनुवन्ध छन् ।
१. गुडविश इन्जिनियरिङ
शार्क ट्यांकको पाँचौ एपिसोडमा सफ्टवेयर र आईटी कम्पनीको रुपमा रहेको गुडविश इन्जिनियरिङले आफ्नो व्यवसायबारे पिच गरेको थियो । कम्पनीका सीइओ विक्रान्त खत्री हुन् । यस कम्पनीले एआई च्याटबट, पार्किंग म्यानेजमेन्ट सिस्टम, फेस एटेन्डेन्स एप, रोबोटिक्स, फाइल म्यानेजमेन्ट सिस्टम लगायतका सेवा प्रदान गर्दै आएको छ।
कम्पनीले आफ्नो व्यवसायलाई नेपाल र साउथ एशियामा विस्तार गर्नको लागि शार्कसँग १० प्रतिशत शेयरको बदलामा १ करोड ७५ लाख रुपैयाँको लगानी माग गरेका थिए। तर यसमा पाँच जना शार्कले नै लगानी गर्ने प्रस्ताव गर्दै २५ प्रतिशत शेयरको बदलामा २ करोडको अफर गरेका थिए। कम्पनीले सो अफर स्वीकार गरेपछि २ करोडको अल शार्क डिल भएको हो । तर व्यवसाय पिच गर्न आएका सबै ४ जना नै कम्पनी मै रहनु पर्ने शार्कहरुको शर्त रहेको छ।
२. मसिन पसल
मसिन पसलले कृषि क्षेत्र, निर्माण क्षेत्र लगायतका क्षेत्रलाई आवश्यक पर्ने विभिन्न मेसिनरीहरु आयातकर्ताहरुबाट खरिद गरेर ग्राहकहरुलाई बिक्री गर्दै आएको छ। यसले बि टु बि र बि टु सी मोडलमा आफ्ना मसिन बिक्री गर्दै आएको छ। यसका फाउण्डरहरु निर्मल सरावगी र प्रियेश महासेठ हुन् । कम्पनीबाट अनलाइनबाट नै मसिन अर्डर गर्न सकिन्छ र कम्पनीले नेपालभर नै डेलिभरी सेवा दिने गरेको छ। कम्पनीसँग ५ हजार प्रकारका मसिन छन् । तर कम्पनीले हाल अनलाइनबाट मात्रै मसिन बिक्री गर्दै आएको छ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्नको लागि १५ प्रतिशत शेयरको बदलामा डेढ करोड लगानीको लागि शार्कलाई आग्रह गरेको थियो । तर यसमा कुनै पनि शार्कहरुले लगानी गर्ने इच्छा देखाएनन् र कुनै डिल भएन ।
३. मणि शंकर पाउरोटी
मणि शंकर पाउरोटीका फाउण्डर मणि शंकर शाह हुन् । यस कम्पनीले मोहत्तरीमा बेकरी सामग्री उत्पादन तथा बिक्री गर्दै आएका छ। कम्पनीले सन् २०२१ मा १७ लाख, २०२२ मा २२ लाख, २०२३ मा २९ लाख र २०२४ मा ३० लाखको पाउरोटी बिक्री गरेको थियो। सन् २०२५ मा कम्पनीले ४५ को बिक्री गर्ने लक्ष्य लिएको छ।
उनले आफ्नो व्यवसाय विस्तारको लागि १० प्रतिशत शेयरको बदलामा १२ लाख रुपैयाँ लगानी गर्न शार्कलाई प्रस्ताव गरेका थिए। जसमा शार्क सौरभ ज्योतिले २५ प्रतिशत शेयरको बदलामा १२ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका थिए भने शार्क हेमराज ढकालले ५० प्रतिशत शेयर लिने गरि ६० लाख लगानीको लागि प्रस्ताव गरेका थिए।
मणि शंकरले काउन्टर अफर गर्दै २५ प्रतिशत शेयरको बदलातामा २५ लाखको आग्रह गरेका थिए। शार्क सौरभ ज्योतिले २५ प्रतिशत शेयरको बदलामा १५ लाख रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेका थिए, त्यस मै फाइनल डिल भएको हो।
४. किक लाइफस्टाइल
यो कम्पनीका फाउण्डर कुमोद बेगवानी हुन् । कम्पनीले किक ब्राण्डमा स्मार्ट वाच, एआई जडित इयर बड, चार्जर, केवल लगायतका सामग्री बेच्दै आएको छ। कम्पनीका समानको डिजाइन नेपाल मै हुन्छ भने उत्पादन चीनमा हुन्छ।
कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्दै आफ्ना सामग्री विदेशमा समेत बेच्नको लागि ५ प्रतिशत शेयरको बदलामा डेढ करोड रुपैयाँ लगानीको प्रस्ताव गरेको थियो। तर उनले डिल पाएनन् । तर शार्क सौरभ ज्योतिले उनको जोशको प्रशंसा गर्दै मेन्टरशिप प्रदान गर्ने बताए।
यस अघि : शार्क ट्याङ्कको तेस्रो एपिसोडमा ९० लाखको डिल: कसले पाए, कसले पाएनन् ?
पूर्व सांसद शान्ताको शार्क ट्यांक यात्रा: डिल नपाए पनि पाईन् सहयोगको वाचा र सम्मान
शार्क ट्याङ्क: मेरो कोडिङले पायो १ करोड २ लाख, सबको फोनद्वारा २ करोडको अफर रिजेक्ट
शार्क ट्यांकको पहिलो एपिसोडबाटै उद्यमीले लगे ४ करोड २० लाख, कसले कति पाए ?













