स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएपछि नेपाल चिकित्सक सङ्घले गम्भीर ध्यानाकर्षण भएको बताउँदै सो निर्णयमा पुनर्विचार गर्न माग गरेको छ । सरकारले शनिबार र आइतबार दुई दिन बिदा गर्ने व्यवस्था लागू गरेपछि स्वास्थ्य सेवा प्रभावित नबनोस् भन्ने उद्देश्यले स्वास्थ्य मन्त्रालयले अस्पतालहरुलाई आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न आग्रह गरेको थियो ।
अस्पतालहरूले आफ्नो कार्यभार हेरी बहिरङ्ग सेवा सञ्चालन गर्न र सट्टा बिदा मिलाएर भए पनि सेवा प्रवाह गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सो निर्देशन प्राप्त भएपछि सङ्घले एक विज्ञप्ती जारी गर्दै पर्याप्त जनशक्ति अभाव र बढ्दो कार्यभारका कारण उक्त निर्देशन कार्यान्वयन गर्न कठिनाइ हुने भएकाले आइतबार बहिरङ्ग सेवा सञ्चालन गर्न सम्भव नभएको जनाएको हो ।
चिकित्सक तथा स्वास्थ्यकर्मीले ९–५ बाहेक ‘अनकल’, ‘राउन्ड’ तथा आकस्मिकलगायत २४सै घण्टा सेवा प्रदान गरिरहेको अवस्थामा उक्त समय गणना नहुनु अन्यायपूर्ण रहेको सङ्घले जनाएको छ । पर्याप्त जनशक्ति व्यवस्थापन नभएसम्म मन्त्रालयको उक्त निर्देशन कार्यान्वयन गर्न नसकिने सङ्घको ठहर छ ।












