Tuesday, July 15, 2025

नुनमा आयोडिनको मात्रा बढी देखियो भन्ने चर्चा कति सत्य ?

spot_img
spot_img

नुनमा आयोडिनको मात्रा बढी भएको चर्चा अहिले चलिरहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले हाल ५० पी.पी.एम. (पीपीएम भन्नाले १० लाख भाग नुनमा मिसिएको आयोडिनको मात्रा) आयोडिन मिश्रण गरेको नुन बजारमा उपलब्ध गराउँदै आएकोमा यो मात्रा बढी भएको चर्चा हुन थालेको छ ।

सरकारले नै साल्ट ट्रेडिङलाई प्रशोधनस्थलमा नुनमा कम्तीमा ५० पीपीएम आयोडिन मिश्रण गर्न भनेको छ । साल्ट ट्रेडिङले सोही अनुसार आयोडिन मिश्रण गरेर बजारमा पठाउँदै आएको छ । तर, अहिले ५० पीपीएमको मात्रा बढी भयो भनेर साल्ट ट्रेडिङलाई घुमाउरो गरी दोष लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले पनि खाने नुनमा आयोडिनको मात्रा १५ देखि ५० पीपीएम हुनुपर्ने मापदण्ड बनाएको छ । सोही अनुसार नेपालको भौगोलिक अवस्था समेतलाई हेरेर सरकारले प्रशोधनस्थलमा ५० पीपीएम आयोडिन मिश्रण गर्नुपर्ने प्रावधान ल्याएको हो ।

‘प्रशोधन, ढुवानी, भण्डारण, बजार हुँदै उपभोक्ताको भन्छासम्म पुग्दा कम्तीमा १५ पीपीएमबाट नघटोस् भन्नका लागि प्रशोधनस्थलमा ५० पीपीएमको मापदण्ड बनाइएको हो’ स्रोत भन्छ, ‘‘खाद्य नियमावली, २०२७ मा पनि खाने नुनलाई प्रथम श्रेणीको परिरक्षीमा राखिएको छ । भारत सरकारको सहयोगमा सन् १९७३ बाट आयोडिन नुन कार्यक्रम चलाइएको थियो, जुन निकै प्रभावकारी पनि भयो ।’

यो कार्यक्रमको प्रभावकारीताले नै आयोडिनको कमीमा हुने ‘गलगाँड’ जस्ता रोगहरु उन्मुलन हुन सफल भएको कृषि मन्त्रालय मातहतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग स्रोत बताउँछन् । साथै, ४० को दशकमै सरकारले नुनमा आयोडिन अनिवार्य गरेको थियो ।

तर, अहिले नुनमा आयोडिनको मात्रा बढी भएको चर्चा गर्दै आयोडिनको मात्रा घटाउने कसरत सुरु भएको छ । जबकी, नेपालीहरुको खाना पकाउने र खाने संस्कृति (कल्चर) समेत हेरिनुपर्ने कतिपय जानकारहरु बताउँछन् ।

‘आयो नुनको प्याकेटमै खाना पाकेपछि मात्रै नुन राख्नुहोला भनेर लेखिएको हुन्छ, तर नेपालीहरुले खासगरी तरकारी पकाउँदा सुरुमै नुन राखेर पकाउने गर्दछन्’ एक जना जानकार भन्छन्, ‘बजारबाट किनेर लगेको नुन पनि सामान्य रुपमै राख्छन्, यसबाट पनि प्रशोधनस्थलमा ५० पीपीएम आयोडिन मिसाइएको नुन भान्छासम्म पुग्दा पीपीएम घटेर पुग्छ ।’

यस्तै, अधिकांश नेपालीहरु बिहान र बेलुका खाना मात्रै खाने गर्दछन् । दिनमा चार/पाँच पटक खाना तथा खाजा खानेहरुको हकमा थोरै नुन खाँदा पनि शरीरमा आयोडिनको मात्रा पुग्ने हुन्छ । तर, बिहान र बेलुका मात्रै खाना खानेहरुले नुनको मात्रा पनि सोही अनुसार केही बढी नै खाने गर्दछन् ।

के भन्छ खाद्य विभाग ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जिव कुमार कर्णले पनि नुनमा आयोडिन बढी भयो भनेर अहिले सामाजिक सञ्जालहरुमा हल्ला चलाइएकोमा असन्तुष्टि जनाएका छन् । उनले आयोडिन बढी भएका कारण थायोराइड बढ्यो भन्ने हल्लाका भरमा आयोडिन हटाउन नुन भुट्दै गरेको भिडियो आफूले पनि देखेको भन्दै ति विषयहरुमा सत्यता नरहेको बताएका छन् ।

केही समय अगाडीको पत्रकार सम्मेलनमा महानिर्देशक कर्णले भनेका थिए, ‘आयोडिन नुन खान छोड्दा भविष्यमा सन्तान, छोराछोरी, नाती नातिनामा गलगाँड हुन्छ भन्ने चिन्ता चाहिँ छैन, केटाकेटी सुस्त मनस्थितिका होलान् भन्ने चिन्ता छैन, तर भुट्न सिकाउन थालियो । यस्ता म्यासेज नजाओस्, यी कुरा साइन्स बेस्ड होइनन् ।’

उनले अहिलेसम्म विभागले हेरेको तथ्याङ्कले मानिसमा आयोडिनको मात्रा बढी भएको नदेखाउने पनि बताए । ‘अहिलेसम्म हामीले हेरेको तथ्याङ्कले ओभर डोज देखाउँदैन’ महानिर्देशक कर्णले भने, ‘थायोराइड बढ्न थाल्यो भनेर त्यसको कारण खोज्नुको सट्टा नुनलाई दोष दिन थालियो । नाँच्न नजान्ने, आँगन टेडो भन्छौँ नि हामी । यसकारण फूड सेफ्टीको कुरा आर्ट होइन, साइन्स हो भन्ने कुरा बुझ्नुपर्छ ।’

यस्तै, नुनको मात्रा कम वा बढी हुँदा मात्रै थाइराइडको समस्या नदेखिने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् । मुटु र डिप्रेशनको औषधि सेवन गरिरहेकाहरुमा थाइराइडको समस्या देखिने जोखिम बढी हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ ।

औषधि आयातको तथ्यांकले के देखाउँछ ?

हाइपरथाइराइड र हाइपोथाइराइडको औषधि आयातको तथ्यांक हेर्दा पनि हाइपोथाइराइडको औषधि बढी आयात हुने गरेको देखिन्छ । हाइपोथाइराइडका लागि levothyroxine नामक औषधि बढी प्रयोग हुने गरेको पाइन्छ । यी बाहेक अन्य औषधि पनि आयात हुन्छन् । आयातको तथ्यांक अनुसार चालु आर्थिक वर्षको जेठसम्म हाइपोथाइराइडको औषधि कुल १ अर्ब १३ करोडभन्दा बढीको आयात भएको छ ।

यसमध्ये करिब ९६ प्रतिशत औषधि भारतबाट आउने गरेको पाइन्छ । बाँकी ४ प्रतिशत भने बंगलादेश र भियतनामबाट आयात हुने गरेको देखिन्छ ।

तर, हाइपरथाइराइडको औषधि भने यस अवधिमा करिब १८ करोड हाराहारीको मात्रै आयात भएको देखिन्छ । हाइपरथाइराइडका लागि methimazole, PTU आदि औषधि आयात हुन्छन् । तर, यी औषधि हाइपोथाइराइडको औषधिको तुलनामा निकै कम मात्रामा आयात हुने गरेको तथ्यांकमा देखिन्छ ।

औषधि आयातको तथ्यांकले पनि नेपालीको शरीरमा आवश्यकताभन्दा बढी आयोडिन पुगिरहेको छ भन्ने दाबीलाई पुष्टि गरेको पाइँदैन । औषधि व्यवस्था विभागका अधिकारीहरु पनि नेपालमा हाइपरथाइराइड कम मात्रामा देखिने भएकाले औषधि पनि कम मात्रामै दर्ता रहेको बताउँछन् ।

कम आयोडिन स्तर भएका देश र स्वास्थ्य समस्या

नेपालमा ५० पीपीएम आयोडिनको मात्रा तोकिएको भएपनि त्यसलाई धेरै भयो भनेर घटाउने कसरत सुरु भइरहेका बेला नुनमा कम आयोडिन मिश्रण गरेर सेवन गर्ने देशहरुमा उत्पन्न मानव स्वास्थ्य समस्याबारे पनि अध्ययन हुनुपर्ने जानकारहरु बताउँछन् ।

उदाहरणका लागि इथियोपियामा उत्पादन तहमा ६० देखि ८० पीपीएम आयोडिनको मात्रा हुनुपर्ने भनिएको छ । तर, एक अध्ययनका अनुसार घरमा उपभोग हुने नुनमा जम्मा १५ पीपीएम मात्रै पाइएको छ । त्यहाँ कम आयोडिनका कारण त्यहाँका २७ देखि ३६ प्रतिशत महिलामा गुइटर नामक समस्या देखिएको छ । यससँगै मानसिक विकास कमजोर र ‘आईक्यू’मा समस्या देखिएको पाइएको छ ।

दक्षिण एसियाकै पाकिस्तानमा पनि उत्पादनका क्रममा ३० देखि ५० पीपीएम आयोडिनको मात्रा तोकिएको छ । तर, धेरैजसो नुनमा पीपीएमको मात्रा ५ देखि २० प्रतिशत मात्रै पाउने गरिएको बताइन्छ । यसले व्यक्तिको वौद्धिक विकासमा अवरोध गर्नुका साथै थाइराइडको समस्या पनि बढाएको छ ।

यस्तै, घानामा पनि उत्पादनका बखत नुनमा ५० पीपीएम आयोडिन हुनुपर्ने र उत्पादनबाट बजारमा गएपछि २५ पीपीएम आयोडिन हुनुपर्ने भन्ने प्रावधान छ । तर, व्यवहारमा चाहिँ बजारमा गएको कुल नुनमध्ये ५ प्रतिशत नुनमा आयोडिन नै नभएको र १९ प्रतिशतमा २५ पीपीएम आयोडिन रहेको पाइएको थियो । यसले मानव विकासमा ढिलाई, गुइटरको उच्च जोखिम सिर्जना गरेको छ ।

विकसित राष्ट्र क्यानडा, बेलायत, अष्ट्रेलियामा पनि आयोडिन सेवनको मात्रा घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यी देशमा समुद्री नुनको व्यापक प्रयोगले आयोडिनको सेवन घटेको हो ।

क्यानडामा १२ प्रतिशत मानिसमा मध्यमदेखि गम्भीर आहारजन्य आयोडिन कमी रहेको बताइन्छ । यस्तै, बेलायतमा १६ देखि ४९ वर्ष उमेर समूहका महिलामध्ये १७ प्रतिशतमा आयोडिनको कमी रहेको तथ्यांक छ ।

शरीरमा आयोडिनको कमीले पनि बच्चाहरूको शारीरिक र वौद्धिक विकासमा कमी, थाइराइड डिस्फंक्शन, थकान, तौल अस्वभाविक रुपमा बढ्ने जस्ता समस्या देखा परेका छन् ।

यसकारण अन्तर्राष्ट्रिय अनुभव समेतको आधारमा नीतिगत निर्णय गर्नुपर्ने जानकारहरुको सुझाव छ । स्वास्थ्य मन्त्रालयले कुनै प्राविधिक सर्भे नगरी नुनमा आयोडिनको मात्रा बढी छ भनेर चर्चा गर्नु उचित नहुने भन्दै स्वास्थ्य क्षेत्रका जानकारहरुले अफवाह फैलाउने भन्दा पनि वास्तविक सर्भे हुन जरुरी रहेको बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img

ओझा निलम्बनमा परेपछि बीमा प्राधिकरण अध्यक्षमा पोखरेल, लिए सपथ

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेलले नेपाल बीमा प्राधिकरणको अध्यक्षको...

 माछापुच्छ्रे क्यापिटलद्वारा श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

माछापुच्छ्रे क्यापिटल लिमिटेडले श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग...

ईभीको बढ्दो दुर्घटनाः प्रविधि असुरक्षित होइन, दोष कसको ?

अहिले सामाजिक सञ्जालमा विद्युतीय सवारी साधनको दुर्घटनालाई अस्वभाविक रुपमा...

एनआरएनए जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी...

मंगलम इन्डष्ट्रिज लिमिटेडलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको ३८ करोड लगानी

मंगलम इन्डष्ट्रिज लिमिटेड (एमआईएल)ले निजी इक्विटी फण्ड अवसर इक्वीटी...

नेप्सेमा ट्रेड टावरको शेयर सूचीकृत, बुधबार कुन मूल्यमा हुन्छ पहिलो कारोबार ?

नेपाल स्टक एक्सचेन्जमा ट्रेड टावर लिमिटेडको शेयर सूचीकृत भएको...
spot_img