रिभर फल्स पावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ। प्रकाशित वित्तीय विवरण यस अवधिमा कम्पनीले ३ करोड ३४ लाख ५७ हजार खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनी १० लाख ७१ हजार घाटामा थियो।
यस अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी ५१ प्रतिशतले बढेर ९ करोड ९४ लाख ८७ हजार पुगेको छ। कम्पनीले अन्य आम्दानीबाट ११ लाख ५१ हजार कमाएको छ। कम्पनीको ब्याज खर्च ३ करोड ८४ लाखबाट बढेर ४ करोड ३४ लाख पुगेको छ। ब्याज खर्च बढेतापनि कम्पनीको विद्युत बिक्रीको आम्दानी बढेकोले कम्पनी खुद घाटाबाट खुद नाफामा आएको देखिन्छ ।
यस अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रति शेयर आम्दानी १९.१२ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १०४.९२ रुपैयाँ रहेको छ। ७० करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ३ करोड ४४ लाख ५२ हजार रुपैयाँ रहेको छ।
कम्पनीले संखुवासभामा १०.३० मेगावाट क्षमताको तल्लो पिलुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरेर २०८० साउन २५ देखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले १:१ अनुपातमा शतप्रतिशत हकप्रद निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ।












