एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले अब सोलार आयोजना पनि निर्माण गर्ने भएको छ। कम्पनीले २५० मेगावाट क्षमताको सोलार आयोजनाको लागि विद्युत विकास विभागबाट सर्भे लाईसेन्स लिएको छ।
कम्पनीले रोल्पामा एक सय मेगावाटको रोल्पा सौर्य विद्युत आयोजना र अर्घाखाँचीमा डेढ सय मेगावाटको अर्घाखाँची सौर्य विद्युत आयोजनाको सर्भे लाईसेन्स लिएको हो। विद्युत विकास विभागले साउन १४ गते कम्पनीलाई यी आयोजनाको सर्भे लाईसेन्स प्रदान गरेको हो। सर्भे लाइसेन्सको अवधि १ वर्षको रहेको छ।
अब कम्पनीले यी आयोजनाको सम्भाव्यता अध्यययन गर्नु पर्ने छ । आयोजनाको सर्भेको काम सकेपछि आयोजना सम्भव देखिएमा कम्पनीले विद्युत विकास विभागबाट कन्स्ट्रक्सन लाईसेन्स लिनु पर्ने हुन्छ। त्यसपछि मात्र कम्पनीले आयोजना निर्माण सुरु गर्न पाउने छ। निर्माण सम्पन्न भएमा यी आयोजना हालसम्म कै ठूलो सौर्य आयोजना हुने छन् ।
कम्पनीले हाल विभिन्न जलविद्युत आयोजना, विभिन्न बैंक, वित्तीय संस्था र बीमा कम्पनी, विशिष्टिकृत लगानी कोष, होटेल र एचआईडीसीएलमा समेत लगानी गरेको छ। कम्पनीले पहिलो पटक सोलार आयोजना निर्माण गर्ने भएको छ।









