नेपाली सेनाले अब उर्जा क्षेत्रमा पनि लगानी गर्ने भएको छ। सेनाले सोलार आयोजनामा निर्माण गर्ने उदेश्य सहित विद्युत विकास विभागबाट लाईसेन्स दिएको छ।
नेपाली सेनाको सैनिक कल्याणकारी कोषले असार विभिन्न ३ वटा सोलार आयोजनाको सर्भे लाईसेन्स लिएको हो। यी सर्भे लाईसेन्सको अवधि एक वर्षको रहेको छ। सर्भे लाईसेन्स पाएसंगै नेपाली सेनाले सर्भेको काम गरिरहेको छ भने नेपाल विद्युत प्राधिकरणसँग पीपीएको लागि पनि तयारी गरिरहेको छ।
सेनाले रुपन्देहीको सैनामैना नगरपालिकामा ३ वटा सोलार आयोजना पहिचान गरि काम थालेको हो। सेनाले यी आयोजनालाई अहिले सैनिक कल्याणकारी सैनामैना सौर्य विद्युत आयोजना ब्लक नाम दिएको छ। पहिलो ब्लक ५ मेगावाट, दोस्रो ब्लक १० मेगावाटको र तेस्रो ब्लक ८.५ मेगावाट प्रस्ताव गरिएको छ। पहिलो र दोस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १४ गतेसम्म रहेको छ भने तेस्रो ब्लकको सर्भे लाईसेन्सको अवधि २०८३ असार १७ गतेसम्म रहेको छ।
सर्भेको काम सकेपछि सेनाले विद्युत विकास विभागबाट कन्स्ट्रक्सन लाईसेन्स लिनु पर्ने हुन्छ। त्यसपछि मात्र सेनाले आयोजना निर्माण सुरु गर्न पाउने छ।









