Monday, July 13, 2026
spot_img

बत्ति बालिसकेका अरु कुरिरहँदा अध्यक्ष कै लगानी रहेको हाइड्रोले कसरी पायो IPO अनुमति ?

spot_img

नेपाल धितोपत्र बोर्डले बुङ्गल हाइड्रो लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएपछि हाल विभिन्न टीकाटिप्पणी सुरु भएको छ । यस कम्पनीमा धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठकै लगानी रहेको खुलेपछि आईपीओ अनुमति दिँदा अपनाइएको प्रक्रिया र स्वार्थको द्वन्द्वबारे बहस सुरु भएको हो ।

कम्पनीमा अध्यक्ष सन्तोष नारायण श्रेष्ठ स्वयंको ३३ हजार कित्ता शेयर रहेको खुलेको छ । त्यस्तै उनका बुबा चोपनारायण श्रेष्ठको एक लाख कित्ता र उनका भाई सुनिलनारायण श्रेष्ठको ३३ हजार कित्ता शेयर रहेको खुलेको हो । कम्पनीमा उनका परिवारका सदस्यहरू लक्ष्मी श्रेष्ठको ३३ हजार कित्ता र सन्जु श्रेष्ठको १६ हजार कित्ता शेयर पनि रहेको खुलेको छ ।

अनुमति प्रक्रियामा प्रश्न 

बुङ्गल हाइड्रो लिमिटेडले २०८० चैत्र ६ गते आईपीओ निष्काशनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बोर्डमा श्रेष्ठ अध्यक्ष बनेर आएपछि यस कम्पनीको आईपीओमा २०८१ फागुन १९ गते बोर्डले कमेन्ट गरेको थियो । त्यसको ८ दिनमै कम्पनीले जवाफ पठाएको थियो । धितोपत्र बोर्डले वैशाख २५ गते अख्तियारमा बुझाएको विवरणमा कम्पनीको आईपीओ आवेदन अध्ययनकै क्रममा रहेको उल्लेख गरेको थियो ।तर, बोर्डले असार १५ गते कम्पनीलाई आईपीओ अनुमति दियो ।

यो कम्पनी धितोपत्र बोर्डको आईपीओको पाईपलाइनको १० औ नम्बरमा थियो । तर, बोर्डले त्यसभन्दा अगाडीका कम्पनीलाई आईपीओ अनुमति नदिएर सिँधै १०औं नम्बरको कम्पनीलाई अनुमति दिएपछि प्रश्न उठेको थियो ।

त्यसभन्दा अगाडी रहेका हाइड्रो कम्पनीहरुमध्ये भुजुंग हाइड्रोपावर लिमिटेड, याम्बिलिंग हाइड्रोपावर लिमिटेड, टक्सार पिखुवाखोला हाइड्रो र रिज लाइन इनर्जीले लामो समयदेखि विद्युत उत्पादन सुरु गरिसकेका छन् । तर, पहिला आवेदन दिएका र बिजुली बालीसकेका कम्पनीको आईपीओ रोकिएको अवस्थामा त्यसभन्दा पछि आवेदन दिएको कम्पनीले आईपीओ अनुमति पाउनु र त्यसमा बोर्ड अध्यक्षकै लगानी खुल्नुले प्रक्रियामा प्रश्न उठेको हो ।

सञ्चालक समितिबाटै निर्णय

धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले आईपीओ निष्काशनको अनुमति दिने निर्णय गर्ने अख्तियारी बोर्ड अध्यक्षलाई नै दिएको हुन्छ । सोहि अनुसार बोर्ड अध्यक्षले नै आईपीओ निष्काशनको अनुमति दिँदै आएका थिए । तर, बुङ्गलको हकमा भने धितोपत्र बोर्डको सञ्चालक समितिबाटै आईपीओको अनुमति दिइएको छ ।

धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेका अनुसार बोर्ड अध्यक्ष श्रेष्ठले पदमा नियुक्त भई कार्यभार सम्हाल्दाको बखत नै बुङ्गलमा आफ्नो लगानी रहेको जानकारी गराएका थिए । आफ्नो लगानी रहेको र त्यस सम्बन्धि निर्णय आफैँले गर्दा स्वार्थ बाझिने हुन सक्ने भएकोले यसलाई सञ्चालक समितिमा लागिएको प्रवक्ता घिमिरे बताउँछन् । उनका अनुसार बोर्डको सञ्चालक समितिको बैठकमा छलफल हुँदा अध्यक्ष श्रेष्ठ सो छलफलमा सहभागी भएका थिएनन् । स्वार्थ बाझिन सक्ने छलफलमा भाग लिन नपाउने व्यवस्था अनुसार नै अध्यक्ष श्रेष्ठ अलग रहेर यो निर्णय भएको बोर्डको दाबी छ ।

रोचक त के छ भने, अध्यक्षको समेत लगानी रहेको कम्पनीलाई आईपीओ निष्काशन गर्न दिने बारेको छलफल हुनु अघि नै धितोपत्र बोर्डका सञ्चालक गोकर्णराज अवस्थी सञ्चालकबाट हटेका थिए । उनी नेपाल उद्योग वाणिज्य महासंघबाट प्रतिनिधित्व गर्दै बोर्डमा सञ्चालक बनेका थिए । उनलाई महासंघले नै फिर्ता बोलाएको बताईएको छ । अध्यक्षकै लगानी रहेको कम्पनीलाई आईपीओ निष्काशन गर्न दिने निर्णय गर्दा विवाद हुने सक्ने भएकोले त्यसमा सहभागी नहुने गरि सञ्चालकलाई महासंघले फिर्ता बोलाएको हुन सक्ने बोर्डकै कर्मचारीहरु बताउँछन् ।

बोर्डका प्रवक्ता निरन्जय घिमिरे भने सो कम्पनीले आईपीओ निष्काशनको लागि पूरा गर्नुपर्ने सम्पूर्ण मापदण्ड पूरा गरेको र अध्यक्षको स्वार्थ बाझिन सक्ने भएकोले बोर्डको सञ्चालक समितिको बैठकमा अध्यक्ष सहभागी नभई अनुमति प्रदान गरिएको बताउँछन् । सबै प्रक्रिया पूरा गरेको कम्पनीलाई रोक्नुपर्ने कारण नदेखिएकोले अनुमति प्रदान गरिएको उनको भनाई छ ।

धितोपत्र बोर्ड सम्बन्धी ऐन, २०६३ को दफा १८ मा कुनै सञ्चालकको स्वार्थ बाझिने रहेछ भने त्यसबारेको व्यवस्था गरिएको छ । जसमा भनिएको छ ‘कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष निजी स्वार्थ भएको कुनै प्रस्ताव उपर बोर्डको बैठकमा छलफल हुने रहेछ भने सो छलफल शुरू हुनुभन्दा अगावै निजले सो बारेमा बोर्डलाई जानकारी दिनुपर्नेछ । बोर्डले अनुमति दिएमा बाहेक त्यस्तो सदस्यले सो प्रस्ताव उपर हुने छलफल तथा निर्णयमा भाग लिन र आफ्नो मत प्रकट गर्न पाउने छैन ।’ सोही अनुसार नै अनुमति प्रदान गरिएको प्रवक्ता घिमिरे बताउँछन्।

कस्तो छ कम्पनी ?

यस कम्पनीले बझांगमा १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८० भदौ २ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीले विजुली उत्पादन गरिसक्नु पर्ने समयभन्दा १८ महिना ढिलो गरि विद्युत उत्पादन थालेको हो । यसका कारण कम्पनीले पीपीएको दरमा पाउने ५ वटामध्ये २ वटा दर वृद्धिको सुविधा पाउन सकेको छैन । कम्पनीको प्रति मेगावाट लागत पनि २८ करोड ४० लाख रहेको छ, जुन तुलनात्मक रुपमा धेरै नै महँगो हो । कम्पनीको कुल लागतमध्ये ७१ प्रतिशत ऋण लिइएको छ, यसले कम्पनीमा ऋणको भार धेरै रहेको देखाउँछ ।

यस कम्पनीका अध्यक्ष शिव प्रसाद घिमिरे हुन् । कम्पनीको अन्य सञ्चालकमा राजेश कुमार श्रेष्ठ, खगेश्वर बोहोरा, विरेन्द्र बहादुर मल्ल लगायत छन् । बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुप अन्तर्गतको कम्पनी हो ।

बोर्डबाट अनुमति पाएपछि कम्पनीले २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले जारी पुँजीको ३५ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img