नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बजेटमा आएको ‘टेक एण्ड पे’ पीपीएको विषय पीपीएको सुनिश्चितता नभएका आयोजनालाई मात्र रहेको आफुलाई लागेको बताएका छन् । यद्यपि यसबारे आफुले उर्जा मन्त्री र उर्जा मन्त्रालयसँग थप बुझ्ने उनले बताएका हुन् ।
गत जेठ १५ गते सार्वजनिक भएको बजेटमा आरओआर प्रकृतिका जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) ‘टेक एण्ड पे’मा गरिने उल्लेख छ। यो भनेको आयोजनाको बिजुली प्राधिकरणले खरिद गरेमा मात्र आयोजनालाई पैसा भुक्तानी दिने भन्ने हो । यो व्यवस्थाले आफुहरुको अर्वौँ लगानी डुब्ने र सकारको लक्ष्य अनुसारको जलविद्युत आयोजना नबन्ने भन्दै स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले विरोध गरिरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले यो व्यवस्था सबै आरओआर आयोजनाको लागि नभएकोतर्फ संकेत गरेका हुन् । पीपीएको सुनिश्चितता नै नभएका आयोजनालाई टेक एण्ड पे मा भए पनि पीपीए गरिने उनको आशय थियो।
यद्यपि उनले छिट्टै निजी क्षेत्रले विद्युत ब्यापारक लाईसेन्स पाउने र निजी क्षेत्र आफैले पनि आयोजनासँग पीपीए गर्न सक्ने उल्लेख गरे। हिउँदको बिजुली प्राधिकरणले खरिद गर्ने र बर्खाको बिजुली निजी क्षेत्रले नै खरिद गरेर जान सक्ने उनको भनाई थियो।









