यस वर्षको दशैँमा टाटाका ७५१ गाडी ग्राहकलाई डेलिभरी गरिएको छ । टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पञ्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आईसीई गाडी गरेर ७५१ युनिट गाडी नेपाली बजारमा बिक्री गरेको हो ।
यस वर्षको नाडा अटो शोमा ४७५ बुकिङ्ग लिएर धमाकेदार प्रवेश गरेको टाटा पञ्च ईभीको यो दशैँमा ३७७ युनिट डेलिभरी भएको छ । सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक भएको पञ्च ईभीमा कम्पनीले सोचेको भन्दा उत्साहजनक डेलिभरी भएको सिप्रदी प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतिले बताए । उनका अनुसार यसको सुरुवाती भेरियन्टमा पनि सनरुफको आनन्द लिन मिल्ने र नेपाली बाटोमा सुहाउँदो गाडी भएकोले पञ्च ईभीले राम्रो बजार लिइरहेको छ ।
यसैगरी, सिप्रदीले यो दशैँमा गत वर्ष नै लञ्च भएको टियागो ईभी पनि १५६ युनिट डेलिभरी गरेको छ । महिला र पहिलो पटक गाडी किन्दै गरेका उपभोक्ताका लागि रोजाईमा पर्ने गरेको टियागो ईभीको उल्लेख्य डेलिभरी भएको कम्पनीले जनजाएको छ ।
एक्प्रेस–टीको १५६ युनिट डेलिभरी भएको सिप्रदीले जनाएको छ । यस्तै, टाटाको टिगोर ईभी १० युनिट बिक्री भएको छ ।
आईसीई गाडीको ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।
यसको साथै कम्पनीले दशैँका लागि ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै दशैँभरि सिप्रदीको फास्ट डिसी चार्जिङ्ग स्टेशनमा निःशुल्क चार्जिङ्गको घोषणा गरेको छ । साथै टाटा मोटर्सले आफ्ना देशभरिको सर्भिस सेन्टरहरुबाट आकस्मिक सेवा प्रदान गर्ने जानकारी गराएको छ । बिदाको समयमा पनि टाटाका बाघडोल र गोगंबु स्थित दुईवटा सर्भिस सेन्टरहरु खुल्ला छन् । जसमा प्यासेन्जर तथा ट्याक्सीहरु सर्भिसिङ्ग तथा चार्जिङ्गको व्यवस्था मिलाइएको छ भने अन्य सर्भिस सेन्टरहरु मार्फत ब्रेकडाउन सर्भिस प्रदान गरिनेछ ।
सिप्रदीको नेपालभरि १८५ं चार्जिङ नेटवर्क र १६ वटा भन्दा धेरै सर्भिस सेन्टरहरु रहेका छन् ।













