शुक्रबार बिहान भरतपुरमा भएको एउटा दुःखद घटनाले दुर्घटनाको कारण मात्र होइन, विद्युतीय सवारीको सुरक्षा सम्बन्धी गम्भीर प्रश्न पनि उठाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार एउटा EV अनियन्त्रित भएर केही स्कुटरलाई ठक्कर दिँदै डिभाइडर र पोलमा ठोक्किएको र त्यसपछि गाडीको तल्लो भागबाट आगो फैलिएको देखिएको छ । आगलागीको वास्तविक कारण के हो र यसमा High-Voltage Battery को भूमिका थियो कि थिएन भन्ने कुरा प्राविधिक अनुसन्धानपछि मात्र स्पष्ट हुनेछ ।
तर यहाँ अर्को महत्वपूर्ण प्रश्न पनि छ, यस्तो खालको गम्भीर दुर्घटना हुँदा गाडीभित्र रहेका मानिसले आपतकालीन अवस्थामा कसरी सुरक्षित रूपमा बाहिर निस्कने ?
आधुनिक गाडीहरूमा सुविधा र लागतका कारण धेरै Physical Button र Mechanical Control हटाएर Central Touchscreen तथा Electronic System मा निर्भरता बढिरहेको छ । Automatic Door Unlock जस्ता सुविधा पनि सामान्य बन्दै गएका छन् । तर, दुर्घटनापछि गाडीको विद्युत् प्रणाली, Screen वा Automatic Unlock ले काम नगरेमा भित्र बसेको व्यक्तिले सजिलै ढोका वा झ्याल खोल्न नसक्ने अवस्था आयो भने के हुन्छ ? यदि एउटा मानिसले केवल गाडीभित्रबाट बाहिर निस्कन नसकेकै कारण ज्यान गुमाउनुपर्यो भने त्यसको जिम्मेवारी कसले लिने ?
यो दुर्घटना विद्युतीय सवारी साधनमाथि प्रश्न उठाउने वा विरोध गर्ने विषय होइन । यो सुरक्षा, नियमन र जिम्मेवारीको विषय हो ।
नेपालमा EV को प्रयोग तीव्र रूपमा बढिरहेको अवस्थामा सरकारले र सम्बन्धित नियामक निकायले Emergency Exit, Door Release, Electrical Isolation, Battery Fire Behaviour र दुर्घटनापछि Rescue Procedure जस्ता विषयमा गम्भीर प्राविधिक मूल्याङ्कन गर्न आवश्यक छ । प्रविधिले मानव जीवनलाई अझ सुरक्षित बनाउनुपर्छ, कुनै आधारभूत Escape Mechanism उपलब्ध नभएको वा काम नगरेको कारण कसैले ज्यान गुमाउने अवस्था सिर्जना गर्नु हुँदैन ।
अब हामीले आफैंलाई एउटा गम्भीर प्रश्न सोध्ने बेला आएको छ, हामीले सडकमा ल्याउने नयाँ प्रविधिको मूल्याङ्कन गर्दा नेपाली नागरिकको जीवनलाई हामी कति गम्भीरतापूर्वक सोचिरहेका छौँ ?
(ईभी सम्बन्धि जानकारहरुसँग कुराकानी पश्चात तयार पारिएको सामग्री)









