नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले ई भिटारा एसयूभीको बुकिङ खुला गरेको छ । कम्पनीले पोखरामा सुरू भएको वाडा अटो शो २०२६ मा यो एसयूभी सार्वजनिक गर्दै बुकिङ सुरू गरेको हो ।
कम्पनीले यसको सुरूवाती भेरियन्टको मूल्य ४९ लाख ९९ हजार तोकेको छ ।
कम्पनीका अनुसार दुई ब्याट्री अप्सनमा उपलब्ध हुने ई भिटारामा ४९ र ६१ किलोवाट आवरको ब्याट्री रहने छन् । मोटर भने १०६ र १२८ किलोवाटको रहेको छ । सुजुकीको नयाँ ईभी टेक्नोलोजी र फिचरले भरिपूर्ण छ । यसमा फ्रन्ट साइटमा चार्जिङ पोर्ट रहेको छ ।
ई भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।
सुजुकी ई–भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलबेसमा बनेको कम्पनीले जनाएको छ ।












