नेपाली बजारमा मोटरसाइक (बाइक) भाडामा उपलब्ध गराउँदै आएको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन कपन ढलाने ब्रिज नकिै वर्कसप सञ्चालनमा ल्याएको हो ।
उक्त वर्कसपकको उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी गरेका थिए । उद्घाटन कार्यक्रममा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा आवद्ध व्यक्तिहरु उपस्थित थिए ।
ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै वर्कसप सञ्चालनमा ल्याएको आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले जानकारी दिए । सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १ सय वटा पुर्याएको छ ।
नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापन लगायतका सेवा उपलब्ध गराइने बताइएको छ ।
‘अब कमाउने पालो तपाईंको’ भन्ने नारा राख्दै आएको आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो । कम्पनीले बजारमा रहेका पुराना र जीर्ण बाइकहरू भन्दा फरक, ब्रान्ड–न्यू बाइकहरू मात्र भाडामा उपलब्ध गराउँछ ।
राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्नसक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।
सञ्चालक टिमका अनुसार कम्पनीले राइडरहरुलाई सुरुमा हेल्मेट, फोन होल्डर, रेनकोटका साथसाथै एकपटक सगुनस्वरुप १५ सयको पेट्रोल पनि उपलब्ध गराउनेछ । आरवाईडी नेपालको उद्देश्य केवल बाइक भाडामा दिने कम्पनी मात्र नभएर राइडरहरूको भविष्य निर्माण गर्ने एउटा प्लेटफर्म बन्नु हो ।
ग्राहकले अनलाइन प्रणालीमार्फत आफूलाई आवश्यक पर्ने समय र मोडल छनोट गरी सेवा लिनसक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।









