नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल र यातायात व्यवस्था विभागबीच प्रस्तावित ‘सवारी आयात, उत्पादन तथा जडान सम्बन्धि निर्देशिका’बारे छलफल भएको छ ।
नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा विभागमा गएको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक राजिव पोखरेलसँग भेटगरी उक्त निर्देशिकासहित अटोमोबाइल्स क्षेत्रका विभिन्न विषयमाथि छलफल भएको नाडाले जनाएको छ ।
भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले विभागले सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका २०८२ का सन्दर्भमा गरिरहेको तयारीका सम्बन्धमा जिज्ञाशा राख्दै विभागले गरिरहेको अध्ययन र तयारीको प्रशंसा गरेका छन् । साथै, उनले प्रस्तावित निर्देशिकामा भएका बुँदाहरु बारे नाडा र विभागबीच विस्तृत छलफल गरी अघि बढनुपर्ने धारणा राखेका छन् ।
उक्त छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले प्रस्तावित निर्देशिकामा उल्लेखित केही बुँदाहरुको विषयमा थप छलफल गरिनुपर्ने आवश्यकता औल्याएका छन् । उनले केही बुँदाहरुमा सिलसिलेवार छलफल गरी सो निर्देशिकालाई यथार्थ र व्यावहारिक बनाउनुपर्ने बताएका हुन् ।
नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सरकारले गलत कार्य गर्नेहरुलाई दण्डित गर्नुपर्ने र सही कार्य गर्नेहरुलाई पुरस्कृत गर्नुपर्ने धारणा राखेका छन् । उनले नेपालमै ब्याट्री उद्योगहरुको स्थापना भइसकेको जानकारी दिँदै निर्देशिकाले यो विषय पनि समेट्नुपर्ने बताएका छन् ।
सो भेटघाट तथा छलफलमा विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले सो प्रस्तावित निर्देशिका तयार पार्न संयुक्त राष्ट्र संघ र युरोपेली युनियनले के कस्तो व्यवस्था गरेको छ भन्ने बारेमा समेत अध्ययन गरिएको बताएका छन् ।
छलफलमा महानिर्देशक पोखरेलले यस विषयमा नाडा जस्तो मुख्य सरोकार राख्ने संस्थासँग थप छलफल गरेर नीतिगत स्पष्टता ल्याइने प्रतिवद्धता जनाएका छन् । उनले नेपालमा अहिलेसम्म सवारी साधन आयात सम्बन्धि कुनै स्पष्ट नियम नभएकोले त्यसलाई व्यवस्थित बनाउन निर्देशिकाको तयारी भईरहेको बताए । उनले यस विषयमा नाडासंग सहकार्य गरेर अघि बढ्ने बताएका छन् ।