अहिले सामाजिक सञ्जालमा विद्युतीय बस दुर्घटना भइरहेको फोटो तथा भिडियोहरु छताछुल्ल देखिन थालेका छन् । सामाजिक सञ्जालमा त्यस्ता तस्बिर फैलाउनेहरुले ईभीको सुरक्षालाई लिएर आशंका व्यक्त गरेको पनि देखिन्छ ।
यी दुइ प्रतिनिधिमूलक घटनालाई उदाहरणका रुपमा लिन सकिन्छ । पहिलोः चितवनमा भएको दुर्घटना ।
असार ७ गते चितवनमा धनगढीबाट काकडभिट्टा हिडेको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको ईभी माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भयो । चितवनको राप्ती नगरपालिका–३ मा भएको उक्त दुर्घटनामा ७ जनाको मृत्यु भएको थियो भने २० जना घाइते भएका थिए ।
दोस्रोः कलंकीमा भएको दुर्घटना ।
कलंकीमा स्कुलभित्रै ईभी माइक्रोभ्यान दुर्घटनामा पर्यो । असार २ गते इडिफाई इन्टरनेसनल स्कुलको कम्पाउण्डमा भएको दुर्घटनामा एक विद्यार्थीको मृत्यु भयो भने ७ जना घाइते भए ।
यी दूबै घटनालाई लिएर सामाजिक सञ्जालमा ईभीको सुरक्षा प्रणालीमाथि नै प्रश्न उठाइएको छ । कतिपयले त ईभी गाडीको आयात नै रोक्नुपर्छ समेत भन्न भ्याएका छन् । सवारी पूर्वाधार विज्ञ आशिष गजुरेलको एउटा भिडियो सेयर गर्दै विष्णु खोल्त्याल धामी नाम गरेका व्यक्तिले ‘यो ईभी सवारी साधन यो देशमा बन्द गरिनुपर्छ यिनका चालकमा कुनै दक्षता देखिँदैन त्यसैले यो सवारी बन्द गरिनु पर्छ’ भनेर फेसबुकमा लेखेका छन् ।
यस्तै जगतमाता सरस्वती नामका फेसबुक प्रयोगकर्ताले पनि भौगोलिक बनावट विपरीतका साधन घुस र कमिशन असुल गरी आयात गर्न दिनेहरुका कारण दुर्घटना बढिरहेको भन्दै कटाक्ष गरेका छन् ।
यसरी अहिले ईभीको सुरक्षालाई लिएर चासो प्रकट भइरहेको छ । खासगरी, ईभीको दुर्घटनालाई असामान्य मानिन थालेको छ । जबकी, पूर्वाधार तथा सवारी साधनबारे जानकारहरु भने ईभीको सुरक्षा प्रणालीकै कारण दुर्घटना बढ्न थाल्यो भन्ने दाबीलाई अस्वीकार गर्छन् ।
चालकलाई दक्ष बनाउनुपर्छः यातायात विज्ञ आशिष गजुरेल
यातायात विज्ञ आशिष गजुरेल ईभीको कमजोर सुरक्षा प्रणालीका कारण दुर्घटना भइरहेको छ भन्ने सतही दाबीमा सत्यता नरहेको बताउँछन् । विगतमा आईसी इन्जिनवाला गाडी चलाइरहेका चालकहरुले नै अहिले ईभी गाडी चलाइरहेकाले उनीहरुमा ईभी चलाउने दक्षता कम हुँदा दुर्घटना बढ्न पुगेको उनको बुझाई छ ।
‘हिजो गेयरवाला गाडी चलाएका छन्, अहिले उनीहरु ईभी चलाइरहेका छन्, ईभी भनेको ऐक्सिलेटर जति चलायो त्यति नै धेरै कुद्ने गाडी हो’ उनले भने, ‘त्यसकारण ईभी चलाउने चालकहरुलाई रोड टेस्ट गराउनुपर्छ भन्ने आवश्यकता देखियो । चार/पाँच दिन रोड टेस्ट गराएपछि मात्रै चालकहरुलाई ईभी गाडी चलाउन दिनु उचित्त हुन्छ ।’
गाडीको सुरक्षा उपकरण कमजोर भएर ईभीको दुर्घटना भएको नभई चालकहरु नै ईभी गाडी चलाउन पोख्त नहुँदा दुर्घटना बढेको गजुरेलले दोहोर्याए । ‘दुर्घटना भनेको जुनसुकै सवारी साधन पनि जुनसुकै बेला हुन सक्छन्, सुरक्षा प्रणाली कमजोर भएकाले ईभीको दुर्घटना बढ्न थाल्यो भन्ने कुरा प्राविधिक रुपमा पुष्टि हुन सक्दैन’ उनले भने, ‘ईभीले सेक्युरिटी टेस्टमा उच्च अंक हासिल गरेका हुन्छन्, तर हाम्रा चालकहरु ईभी चलाउन दक्ष भइसकेका छैनन्, उनीहरुलाई दक्ष बनाउनु जरुरी छ ।’
ट्रायल सेन्टरमै ईभी राख्नुपर्ने आवश्यकता बढेको हो ?
डिजेल पेट्रोल तथा गेयरवाला गाडी सिकेर बिना गेयरको ईभी चलाउन सुरुमा असजिलो हुने भएकाले अब क्रमशः ड्राइभिङ सेन्टरहरुमै ईभी राख्ने बेला भएको समेत चर्चा हुन थालेको छ । यस्तै, ट्रायल परीक्षा लिने ट्रायल सेन्टरहरुमा पनि यातायात कार्यालयहरुले ईभी गाडी पनि राख्नुपर्ने आवश्यकता बढ्न थालेको जानकारहरु बताउँछन् ।
यातायात विज्ञ गजुरेल भने अहिले नै ट्रायल सेन्टरहरुमा ईभी राख्न सम्भव नहुने भए कम्तीमा चालकहरुलाई केही दिन सडकमै ईभी चलाउन लगाएर मात्रै ईभी चलाउने अनुमति दिनुपर्ने बताउँछन् ।
‘नेपालमा अन्य देशको तुलनामा ईभीको खपत बढिरहेको छ, तर हाम्रा चालकहरु अन्य देशको तुलनामा कम अनुभव भएका छन्’ उनले थपे, ‘ईभी गाडी केवल कुदाउन मात्रै जानेर हुँदैन । सुरक्षा मापदण्डको पूर्णपालना गराउन पनि अभ्यस्त बनाउनुपर्छ । यसका लागि चालकहरुलाई तालिम दिन आवश्यक छ ।’













