पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर न्यून बिन्दुमा रहेर बजारमा प्रसस्त तरलता हुँदा पनि बजार बढ्न सकेको छैन । बजारमा लाभांशको सिजन सुरु भईसक्दा पनि बजार अझै सुस्त देखिन्छ । झन्डै दुई तिहाई बहुमतको सरकार गठन हुँदा बजारमा जुन उत्साह देखिने अपेक्षा गरिएको थियो, बजार भने त्यसको ठिक विपरित चलिरहेको छ ।
यद्यपि नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएपछि दिर्घकालिन सुधारमा विभिन्न प्रयासहरु थालेको छ । बोर्डले नीतिगत सुधारमा जोड दिदै नीति तथा कार्यक्रमहरुको योजना सार्वजनिक गरिरहेको छ ।
यसै सन्दर्भमा बिजनेशपानाले शेयरबजारको वर्तमान अवस्था, ब्रोकर कम्पनीका समस्या, समाधानका विकल्प, बोर्डले गर्नु पर्ने कार्य, ब्रोकर संघको भावी नेतृत्वले गर्नु पर्ने कार्य लगायतका विषयमा केन्द्रीत रहेर ब्रोकर नम्बर १०१ एप्पल सेक्युरिटिज्की पूर्व प्रमुख कार्यकारी अधिकृत भावना लिम्बुसँग कुराकानी गरेको छ ।
प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
शेयर बजार किन बढ्न सकेको छैन ? लगानीकर्ताले के खोजेका छन् ?
बजार सधैँ एकनाश रहँदैन । बजार बढ्नु वा घट्नुमा केवल बैंकिङ क्षेत्रको तरलताको मात्रै कुरा पनि हुँदैन । यो मुख्यतया, लगानीकर्ताको आत्मविश्वाससँग बढी जोडिएको हुन्छ । स्थिर नीति, कर्पोरेट सुशासन र अनुमानयोग्य नीतिगत प्रबन्ध भएमा लगानीकर्तामा आत्मविश्वास जागृत हुन्छ ।
स्थिर खालको ब्याजदर, नियामकीय नीतिमा बारम्बार परिवर्तन नहुने सुनिश्चितता, सहज कारोबार र अन्तर्राष्ट्रिय असल अभ्यासहरुको कार्यान्वयन गर्दै जानुपर्छ । यसकारण बजार बढ्नका लागि केवल इन्डेक्स बढाउने मात्रै होइन, लगानीकर्ताको कन्फिडेन्स बनाउने नीति आवश्यक छ ।
ब्रोकेरले सेटलमेन्ट गर्न नसक्दा ब्रोकर आफैँ निलम्बनमा पर्छ । यसको समाधान के हुन सक्छ ?
सेटलमेन्ट अनुशासन बजारका लागि निकै महत्वपूर्ण कुरा हो । लगानीकर्ताको सम्पत्ति र यसको सुरक्षा पहिलो प्राथमिकता हुनुपर्छ । तर, कुनै कारणले कुनै एउटा ब्रोकरमा समस्या आउँदैमा लगानीकर्ताको कारोबार नै प्रभावित हुने प्रणाली पनि ठिक हुँदैन ।
यसका लागि ‘ब्रोकर डिफल्ट म्यानेजमेन्ट सिस्टम’ बनाएर जानुपर्छ भन्ने मेरो सुझाव छ । यसमा प्रत्येक ब्रोकरको ‘रियल टाइम नेट क्यापिटल मोनिटरिङ’, दैनिक तरलता र रिक्स रिपोर्टिङ, सेटलमेन्ट रिजर्भ, ब्रोकर ग्यारेन्टी फण्ड, डिफल्ट फण्ड जस्ता कुराहरु समावेश गर्नुपर्छ ।
सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गरिनु हुन्न, निलम्बन भनेको अन्तिम उपाय हुनुपर्छ । अहिलेकै नियामकीय प्रावधान पनि कतिपय विषयहरुको प्रबन्ध गरिएकै छ, यसलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै जानुपर्ने आवश्यकता चाहिँ छ ।
शेयर कारोबारमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्ने व्यवस्था कत्तिको उपयुक्त हो ?
यो प्रावधान जोखिम नियन्त्रण गर्ने उपायका रुपमा आएको हो । अहिले नेप्सेले पनि सेयर खरिद अर्डरमा कम्तीमा २५ प्रतिशत अनुमानित फर्छयौट रकम अग्रिम लिनुपर्ने व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न भनेको स्थिति छ ।
तर, सबै लगानीकर्ताका लागि एउटै नियम व्यवहारिक नहुन सक्छ । मुख्य कुरा भनेको शेयर बजारका प्रावधानहरु जोखिममा आधारित हुनुपर्छ । कुनै नयाँ लगानीकर्ता छ भने उसलाई २५ प्रतिशत वा त्यो भन्दा केही बढी गर्दा पनि हुन्छ ।
तर, नियमित र सेटलमेन्ट हिष्ट्री (इतिहास) भएको लगानीकर्तालाई कम कोल्याट्रल भएपनि हुने खालको प्रावधान चाहिन्छ ।
संस्थागत लगानीकर्ताको हकमा जोखिम लिमिट फरक गर्दा पनि हुन्छ । उच्च जोखिमयुक्त कारोबारी र कम जोखिम भएका कारोबारीको हकमा फरक फरक कोल्याट्रल सिस्टम बनाउनु उचित हुन्छ ।
अहिले टीएमएस गतिलो भएन भनेर आलोचना पनि हुने गरेको छ । ब्रोकरले आईटीमा लगानी गर्न नसकेका हुन् ?
यसलाई केवल ब्रोकर कम्पनीहरुको मात्रै कमजोर भनिनु हुँदैन । नेपालको पूँजीबजारको प्राविधिक पूर्वाधार नै अब सिफ्ट गर्नुपर्ने बेला भइसकेको छ । लगानीकर्ताले राखेको अर्डरको गति, रियल टाइम पोर्टफोलियो, रिक्स म्यानेजमेन्ट, साइबर सेक्युरिटी, एपीआई, जोखिम व्यवस्थापन जस्ता विषयहरुलाई ‘नेक्स्ट जेनेरेशन आर्किटेक्चर’मा लैजानुपर्छ । यसका लागि ब्रोकरले पनि आईटीमा लगानी बढाउनुपर्छ । तर, प्रत्येक ब्रोकरले छुट्टा–छुट्टै महँगो पूर्वाधार बनाउने भन्दा पनि नेप्से, सीडीएससी, ब्रोकर सबै मिलेर साझा पूर्वाधार, एपीआई स्ट्याण्डर्ड र साइबर सेक्युरिटी स्ट्याण्डर्ड बनाउनु बढी प्रभावकारी हुन जस्तो लाग्छ । आजको प्रतिस्पर्धामा टीएमएस नै ब्रोकरको मुख्य प्रोडक्ट हो ।
नयाँ ब्रोकरहरुको बिजनेश कस्तो छ ? अहिलेको अवस्थामा बिजनेश पुगेको छ ?
नयाँ ब्रोकरहरु आएपछि बजारमा प्रतिस्पर्धा बढेको छ, जुन लगानीकर्ताका लागि राम्रो कुरा हो । तर, लाइसेन्स पाउनासाथ ब्रोकरले तुरुन्त पर्याप्त बिजनेश पाइहाल्छन् भन्ने हुँदैन । अहिले नेपालका ब्रोकरहरुको बिजनेश मुख्यतया, ग्राहकमा आधारित कारोबारमा केन्द्रित छ । नयाँ ब्रोकरहरुले अझै प्रविधि, रिसर्च, मार्जिन फाइनान्सिङ, पोर्टफोलियो म्यानेजमेन्ट, एड्भाइजरी र ग्राहक सेवामा लगानी बढाउँदै जानुपर्ने अवस्था छ ।
अहिले बजारमा भएका ब्रोकरहरु कमिशनमा बढी निर्भर छन् । यो दीर्घकालिन नहुन सक्छ । अब अन्तर्राष्ट्रिय अभ्यासहरु हेरेर हामीले पनि त्यसतर्फ अघि बढ्न ढिला गर्नु हुँदैन ।
ब्रोकरहरुले अहिलेको भन्दा थप के के सेवा दिन सक्छन ?
मलाई लाग्छ, ब्रोकरलाई नै क्यापिटल मार्केटको पूर्ण मध्यस्थता बनाइनुपर्छ । यसमा क्रमशः मार्जिन ल्याण्डिङ, पोर्टफोलियो म्यानेजमेन्ट, लगानी परामर्श, रिसर्च, म्युअल फण्ड, कर्पोरेट बण्ड जस्ता कुराहरु पनि समावेश गर्दै लैजानुपर्छ ।
साथै, वेल्थ म्यानेजमेन्ट, आईपीओ तथा एफपीओसँग सम्बन्धित सबै कामहरु, एनआरआए तथा अन्तर्राष्ट्रिय ग्राहक सेवा सम्मका कामहरु ब्रोकरमार्फत हुन सके ब्रोकरको क्षमता सँगसँगै समग्र पूँजीबजारको पनि विकास हुन्छ । तर, यी सबै खालका सेवाका लागि अलग अलग रिक्स म्यानेजमेन्ट र पूँजी पर्याप्त हुनुपर्छ । सेबोनले हालै मार्जिङ ट्रेडिङ सम्बन्धि नयाँ निर्देशिका लागू गरेको छ, यसले पनि यो क्षेत्र क्रमशः विस्तार हुँदैछ भन्ने सन्देश दिन्छ ।
ब्रोकरहरुको मर्जर आवश्यक छ ?
पफर्मेन्स कमजोर रहेका ब्रोकरहरुलाई स्केल अप गर्न मर्जर पनि एउटा राम्रो विकल्प हो । तर, सबैलाई जबरजस्ती मर्जर गराउनुपर्छ भन्नु चाहिँ त्यति जायज नहोला ।
ब्रोकरहरुलाई मर्ज गराउँदा पूँजीको आवश्यकता, प्राविधिक लगानी, मार्जिन बिजनेश, बजार विस्तारको योजना जस्ता विषयहरुलाई आधार बनाउनुपर्छ । तर, फोर्स मर्जर नभई इन्सेन्टिभ सहितको मर्जर हुँदा त्यसले दीर्घकालिन रुपमा राम्रो नतिजा दिन सक्छ । यद्यपी, ब्रोकरहरुमा क्यापिटल रिक्वायरमेन्ट बढेको विषयले मर्जरको बसहलाई भने बढाएको छ ।
सेबोनले लगानीकर्ताको लागत घटाउने भनेको छ, यो पक्कै पनि ब्रोकर कमिशनसँगै जोडिने होला । ब्रोकरको कमिशन मोडल कस्तो हुनुपर्छ ?
यो निकै महत्वपूर्ण कुरा हो । नेपालमा अहिले कमिशन संरचना कारोबार भ्यालूमा आधारित छ । अहिले बजार पनि क्रमशः डिजिटल हुँदै गएको सन्दर्भमा कारोबारको आकार बढाउन प्रेरित गर्ने नीतिगत प्रबन्ध भयो भने कमिशन घटाउने मोडल पनि सही हुन सक्छ । तर, त्यसका लागि सुरुमा कारोबारको भोल्यूम बढाउनुप¥यो ।
एक्टिभ लगानीकर्तालाई मासिक कारोबारको आधारमा कमिशन तिर्ने प्रबन्ध हुन सक्ला, संस्थागतको हकमा ब्रोकर र संस्थागत लगानीकर्ता बीचको आपसी समझदारीमा पनि कमिशन तोक्न सकिने प्रावधान भएमा त्यो अझै बढी प्रभावकारी हुन सक्ला । तर, कमिशन घटाउँदा ब्रोकरको प्रविधि, कम्प्लायन्स र जोखिम व्यवस्थापन खर्चलाई पनि हेरिनुपर्छ ।
ब्रोकरलाई आईपीओ निकाल्न दिनु कति उचित ?
ब्रोकर आफैँ क्यापिटल मार्केटको मध्यस्थता भएको हुनाले उसले आईपीओ जारी गर्न पाउँदा क्यापिटल फर्मेशनमा सहयोग पुग्छ । यदि अहिलेकै अवस्थामा यस्तो अनुमति दिँदा कतै स्वार्थको द्वन्द्व हुन्छ भन्ने देखियो भने त्यस्तो नहुने गरी ब्रोकरलाई पनि आईपीओ निष्काशनको अनुमति दिइनुपर्छ ।
यसका लागि सेबोन जस्ता निकायहरुले पनि थप अध्ययन गर्नुपर्छ । त्यसमा हामी पनि सहयोग गर्न तयार छौँ ।
अब सेबोनले के गर्नुपर्छ ?
नियामक निकायको केवल कन्ट्रोल गर्ने मात्रै होइन, सिङ्गो पूँजीबजारको विकास गर्ने उसको भूमीका हुन्छ । नियामकीय स्थिरता, डिजिटल पूर्वाधार सम्पन्न, लगानीकर्ता संरक्षण जस्ता धेरै कुराहरु सेबोनसँग अपेक्षा गरिएको हुन्छ ।
यीबाहेक जोखिममा आधारित सुपरभिजन, ब्रोकरको जोखिम निरीक्षण, संस्थागत लगानीकर्ताको विकास, सुशासनको कार्यान्वयन, बजारको विस्तार तथा अन्तर्राष्ट्रिय लगानी आकर्षण सम्मका काममा सेबोन केन्द्रित हुनुपर्छ भन्ने मेरो सुझाव छ । सेबोनले अहिले पूँजीबजारकै विज्ञ गोपाल प्रसाद भट्टलाई अध्यक्षका रुपमा पाएको छ । उहाँले पनि धेरै योजनाहरु सार्वजनिक गरिरहनु भएको छ, त्यस अनुसार काम हुँदै गएमा नेपालको पूँजीबजारले चाँडै नै उचाई हासिल गर्नेछ भन्ने विश्वास पनि छ ।
ब्रोकरले नेप्से र सेबोनबाट के सहजीकरण खोजेका छन् ?
स्टक ब्रोकर एसोसियशनले केही समय अघि मात्रै सेबोन नेतृत्व समक्ष आफ्ना सुझावहरु पेश गरेको छ । जसमा ब्रोकर एकाउन्ट फ्रिज हुँदा ट्रेडिङ, सेटलमेन्ट, भूक्तानी जस्ता विषयमा पर्न सक्ने असरहरु उठाइएको छ । यी विषय सेबोनबाट सहजीकरण हुनुपर्ने मुख्य विषय हुन् ।
नेप्सेले पनि लगानीकर्ता र ब्रोकरलाई सहज हुने गरी अर्डरको द्रूत कार्यान्वयन, टिएमएस पूर्वाधारमा सुधार, कारोबारलाई थप प्रविधिमैत्री बनाउँदै लैजाने जस्ता कुराहरुमा सहजीकरण गर्दै जानुपर्छ ।
ब्रोकर संघको संघको चुनाव आउँदैछ, आगामी नेतृत्व कस्तो हुनुपर्ला ?
मेरो विचारमा ब्रोकर संघको नेतृत्व भनेको ब्रोकर कम्पनीहरुको एजेन्डा बोक्ने मात्रै होइन, सिङ्गो पूँजीबजारकै विकासको एजेन्डा बोक्ने हुनुपर्छ । ब्रोकर र लगानीकर्ताको हितलाई अलग अलग होइन, एउटै इकोसिस्टमको रुपमा हेर्ने नेतृत्व हामीलाई चाहिएको छ । किनभने, लगानीकर्ता बलियो भए मात्रै बजार बलियो हुन्छ । बजार बलियो भए ब्रोकर स्वतः बलियो हुन्छ । ब्रोकर बलियो हुनासाथ पूँजीबजार पनि बलियो हुन्छ ।












