इरानमा जारी युद्धले विश्व तेल बजारलाई मात्र नभई रसायनिक मलको आपूर्ति शृंखला पनि प्रभावित बनाउने देखिएको छ । रसायनिक मलको अभाव हुँदा विश्वव्यापी खाद्यान्न संकट निम्तिने खतरा बढेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरका वरिष्ठ सल्लाहकारले मार्च २ मा होर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेपछि यो जलमार्ग प्रभावित भएको छ । विश्वको २० प्रतिशत तेल र ग्यास ढुवानी हुने यस जलमार्ग प्रभावित भएपछि यसले तेलको मूल्य ११५ डलर प्रति ब्यारलभन्दा माथि पु¥याएको छ ।
तेलसँगै रसायनिक मलमा पनि समस्या देखिएको छ । अलजजिराका अनुसार विश्वको २० प्रतिशत मल र ४६ प्रतिशत युरिया गल्फ देशहरूबाट निर्यात हुन्छ, जसको ठूलो हिस्सा होर्मुज स्ट्रेट हुँदै जान्छ । युरिया विश्वभर सबैभन्दा धेरै प्रयोग हुने रसायनिक मल हो ।
कतारको क्यूएएफसीओ (QAFCO) ले मात्र विश्वको १४ प्रतिशत युरिया आपूर्ति गर्छ । युद्धका कारण कतारको ठूलो युरिया प्लान्ट बन्द भएपछि भारतका तीनवटा र बंगलादेशका चारवटा मल कारखानाले उत्पादन घटाएका वा केही बन्द भएका छन् ।
युरियाको निर्यात मूल्य गत साताभित्र ४० प्रतिशत बढेर ५०० डलरबाट ७०० डलर प्रति मेट्रिक टन पुगेको छ, जुन गत वर्षको यही समयको तुलनामा ६० प्रतिशत बढी हो । मोर्निङस्टार विश्लेषक सेथ गोल्डस्टिनले भनेका छन्, “नाइट्रोजन मलको मूल्य दोब्बर र फस्फेट मलको मूल्य ५० प्रतिशत बढ्न सक्छ ।” यदि यो अवस्था लामो समय रह्यो भने विश्वको एक तिहाइ मल व्यापार प्रभावित हुनेछ ।
यो संकट उत्तरी गोलार्धको बीउ रोप्ने मौसम (मध्य फेब्रुअरीदेखि मे महिनासम्म) मा परेको छ । किसानहरूले महँगो मल किन्न नसक्दा धान, गहुँ, मकै र सोयाबिन जस्ता मुख्य बालीको उत्पादन घट्ने खतरा छ । यसले विश्वको २५ प्रतिशत धान निर्यातकर्ताको रुपमा रहेको भारत र ६० प्रतिशत सोयाबिन निर्यातकर्ताको रुपमा रहेको ब्राजिल जस्ता देशबाट निर्यात घटाउँछ। जसको कारण विश्वभर खाद्य मूल्य बढाउँने संकेत देखिएको छ । सन् २०२२ को रुस–युक्रेन युद्धपछिको मल अभाव र चीनको निर्यात प्रतिबन्धले पहिलेदेखि नै विश्वलाई प्रभावित पारिसकेको छ ।
नेपालमा कस्तो प्रभाव ?
नेपाल पूर्ण रूपमा आयातित मलमा निर्भर छ । अधिकांश मल चीन, भियतनाम र पश्चिम एसियाली (गल्फ) देशबाट आउँछ। होर्मुज जलमार्ग प्रभावित हुँदा नेपालमा मलको नयाँ संकट निम्त्यने देखिएको छ । भारतबाट पनि मल आउँछ, तर भारत स्वयं मल अभावमा परेका कारण आपूर्ति थप कठिन हुने आँकलन गरिएको छ ।
जुन महिनाबाट सुरु हुने धान रोपाई मौसमअघि नै मल अभाव र मूल्य वृद्धिले किसानलाई समस्या पार्ने देखिएको छ । विश्लेषकहरुका अनुसार मलको अभावले बाली उत्पादन घट्दा नेपालको खाद्य आयात बढ्नेछ, खाद्य मूल्य आकाशिनेछ र मुद्रास्फीति बढ्नेछ । नेपालले पहिलेदेखि नै कृषि उत्पादनका लागि अर्बौं रुपैयाँ विदेशी मुद्रा खर्च गर्दै आएको छ । आयातमा पूर्ण निर्भर देशहरूमा यस्तो संकटले खाद्य सुरक्षा जोखिममा पार्ने अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ।
यदि युद्ध लम्बियो भने नेपाल जस्ता विकासशील देशमा खाद्यान्न अभाव र मूल्यवृद्धिले सामान्य जनताको जीवन थप कष्टकर बनाउने देखिएको छ।












