नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ७औँ वार्षिक साधारणसभा रूपमा सम्पन्न भएको छ । बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षता तथा बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसूदन पौडेलको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले २०५५ साल माघ ७ गते स्थापना भएको एसोसिएसनले हाल देशभर सातै प्रदेश र २७ जिल्लामार्फत दुग्ध व्यवसायीहरूको राष्ट्रिय छाता संगठनका रूपमा काम गरिरहेको जानकारी दिए । उनले दूध तथा दुग्धजन्य पदार्थको उत्पादन, उपभोग र प्रवर्द्धनमा निरन्तर सक्रिय रहँदै आएको एसोसिएसनको ‘मोही अभियान’ सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे ।
साधारण सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै बागमती प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेले बागमती प्रदेश दुग्ध उत्पादनको दृष्टिले देशकै महत्वपूर्ण क्षेत्रमध्ये एक रहेको बताए । उनका अनुसार प्रदेशमा वार्षिक ४ लाख ३६ हजार ८२३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । जसले रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको छ । ठूलो उपभोक्ता बजार, व्यावसायिक तथा सामुदायिक दुग्ध उत्पादन, खरिद–बिक्री र वितरणको व्यापक सञ्जालका कारण बागमती प्रदेश सरकारी तथा निजी डेरी उद्योगको केन्द्रका रूपमा विकास भएको उनको भनाइ छ ।
बागमती प्रदेश सचिव श्याम घिमिरेले एसोसिएसनका गतिविधिहरू प्रस्तुत गर्दै केन्द्रीय कार्यालयसँगको सहकार्यमा खिर प्रवर्द्धन कार्यक्रम, हरितालिका तीजमा दर उपभोग प्रवर्द्धन, अन्तर्राष्ट्रिय स्कुल दूध दिवसका अवसरमा विद्यालयस्तरीय दूधपान कार्यक्रम, राष्ट्रिय मोही दिवस जस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
निवर्तमान अध्यक्ष तथा संस्थापक सदस्य राजन दाहालले आगामी दिनका योजनाबारे जानकारी दिँदै दूध तथा दुग्धजन्य पदार्थको उपभोग बढाउने मौलिक कार्यक्रम, विद्यालय केन्द्रित दूध, दही–चिउरा, खिर, मोही र घ्यू प्रवर्द्धन, कृषक अभिमुखीकरण तालिम, मिल्क एनालाइजर कार्यक्रम, प्रत्येक वर्ष सेप्टेम्बरको अन्तिम बुधबार विश्व स्कुल दूध दिवस मनाउने, न्यूनतम समर्थन मूल्य निर्धारणका लागि सरकारसँग समन्वय गर्ने, कृषकको बजार पहुँच विस्तार र युवालाई कृषि पेशातर्फ आकर्षित गर्ने कार्यक्रमहरू अघि बढाइने बताए ।
एसोसिएसनका कोषाध्यक्ष दीपक सञ्जेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै हाल बागमती प्रदेश कार्यसमितिमा १८० जना सदस्य आवद्ध रहेको र आगामी वर्ष ४० जना नयाँ सदस्य थप्ने लक्ष्य रहेको जानकारी दिए । सदस्यता विस्तार तथा नविकरणमार्फत आर्थिक स्रोत सुदृढ गर्दै पारदर्शी, अनुशासित र उत्तरदायी आर्थिक व्यवस्थापनमा जोड दिइएको उनले बताए। प्रतिवेदनअनुसार हाल संघको बैंक मौज्दात एक लाख ८८ हजार ३२२ रुपैयाँ रहेको छ ।
उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले आफू काभ्रे जिल्लाको बासिन्दा भएको नाताले पनि डेरी क्षेत्रसँग आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै नेपालमा दुग्ध क्षेत्रको सम्भावना उच्च रहेको बताए । उनले सरोकारवाला निकाय र सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको र समयानुकूल नीति नियम संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए ।
राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्र यादवले नेपाल डेरी एसोसिएसनका गतिविधिहरूले दुग्ध क्षेत्रमा निरन्तर सकारात्मक प्रभाव पारिरहेको बताए । एसोसिएसनले दुग्ध क्षेत्रमा देखिएका समस्या नजिकबाट नियाल्दै समयमै आफ्ना धारणा सार्वजनिक गर्ने र सदस्यका समस्या सबै तहमा उठाउने कार्य गरिरहेको उनको भनाइ थियो ।
प्रमुख अतिथि बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले समस्या पहिचानसँगै समाधानका उपाय पनि प्रस्तुत गर्नुपर्नेमा जोड दिए । उनले आफ्नो कर्तव्य पहिला पूरा गर्न, सरकारलाई मात्र दोष दिने प्रवृत्ति त्याग्न र सरकारका कार्यक्रम सफल बनाउन सहकार्य गर्न आग्रह गरे । साथै दुग्ध क्षेत्र तथा समग्र किसानको हितका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको स्पष्ट पारे ।
कार्यक्रममा उत्कृष्ट घरेलु, साना, मझौला तथा ठूलो उद्योग, किसान, पत्रकार र दीर्घ सम्मान गरिएको थियो ।













