नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन समितिका सभापति देशबन्धु बस्नेत (अजित)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रमैत्री प्रावधानहरू समावेश गर्न राष्ट्र बैंकलाई आग्रह गरेका छन् । कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र पुनरुत्थानकै प्रक्रियामा भएपनि अझै अपेक्षित सुधार आइनसकेको उल्लेख गर्दै उनले पूर्वाधार निर्माण र सेवा विस्तारका लागि बैंक तथा वित्तीय संस्थामार्फत सहज कर्जा प्रवाह सुनिश्चित गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।
यस्तै, राष्ट्र बैंकमार्फत विदेशी पर्यटकका लागि भुक्तानी प्रणालीको आधुनिकीकरण गरिनुपर्ने, नेपालका होटल व्यवस्थापनबापत विदेशी ब्राण्डले लैजाने शुल्कलाई दुई पक्षबीच परामर्शका आधारमा निर्धारण गर्न सकिने प्रावधान हुनुपर्ने र होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको ब्याजदरमा कर्जा प्रवाह हुनुपर्ने सुझाव पनि बस्नेतले प्रस्तुत गरेका छन् ।
यसैगरी, क्यासिनो छुट्टै व्यवसाय भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी क्यासिनो सञ्चालककै हुनुपर्ने स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको र नेपालमा विवाह गर्न आउने पर्यटकलाई नगद ल्याउने तथा गरगहना ल्याउन आवश्यक सहजीकरण र भन्सार प्रक्रियामा सहजता गरिनुपर्ने समेत उनको सुझाव छ ।
यस्ता छन् बस्नेतका प्रमुख सुझावहरूः
१) पर्यटन पूर्वाधारमा ऋण लगानीको सहजताः
बैंकहरूलाई पर्यटनसम्बन्धी परियोजनामा कर्जा प्रवाह गर्न प्रोत्साहित गर्ने स्पष्ट निर्देशिका जारी गरिनुपर्छ ।
२) विदेशी पर्यटकका लागि भुक्तानी प्रणालीको आधुनिकीकरणः
विदेशी नागरिकले आफ्नै देशको कार्डमार्फत नेपालमा सहज रूपमा भुक्तानी गर्न सक्ने प्रणाली विस्तार गर्नुपर्ने ।
३) सहुलियतपूर्ण कर्जा सुविधाः
पदयात्रा, ट्राभल एजेन्सी, टुर अपरेटर लगायतका व्यवसायीहरूलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा सुविधा उपलब्ध गरिनु जरुरी ।
४) आम्दानीको सहज रिप्याट्रियसनः
नेपाली ट्राभल कम्पनीहरूले विदेशमा प्याकेज बिक्री गर्दा प्राप्त आम्दानी सजिलै नेपाल ल्याउन सकिने व्यवस्था हुनु आवश्यक ।
५) विदेशी होटल ब्राण्डसँगको शुल्क सम्झौताः
नेपालका तारे होटल व्यवस्थापनबापत विदेशी ब्राण्डले लैजाने शुल्कलाई दुई पक्षबीच परामर्शका आधारमा निर्धारण गर्न सकिने प्रावधान गरिनुपर्छ ।
६) क्यासिनो सञ्चालनमा स्पष्ट जिम्मेवारी तोक्नुपर्नेः
क्यासिनो छुट्टै व्यवसाय भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी क्यासिनो सञ्चालककै हुनुपर्ने स्पष्ट नीतिगत व्यवस्था आवश्यक ।
७) सीमा क्षेत्रका क्यासिनो होटलहरूलाई सहजीकरणः
भारतसँगको सीमामा रहेका होटलहरूमा सञ्चालित क्यासिनोहरूलाई सञ्चालनमा नीति र नियमले सहजीकरण गर्नुपर्ने ।
८) ‘वेडिङ डेस्टिनेशन’ प्रवर्द्धन:
नेपालमा विवाह गर्न आउने पर्यटकलाई नगद ल्याउने तथा गरगहना ल्याउन आवश्यक सहजीकरण र भन्सार प्रक्रियामा सहजता गरिनुपर्ने ।
९) होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगसरहको ब्याजदरः
सरकारले होटललाई उद्योगको मान्यता दिइसकेको सन्दर्भमा होटलहरूलाई दिइने कर्जामा ब्याजदर पनि उत्पादनमूलक उद्योगसरह कायम गरिनुपर्छ ।
१०) कर्जा प्रवाहमा न्यूनतम प्रीमियमः
होटलमा कर्जा प्रवाह गर्दा बैंकहरूले आधार दरमा न्यूनतम प्रीमियम मात्र थप गरेर कर्जा दिनुपर्ने स्पष्ट नीतिगत प्रावधान आवश्यक ।
बस्नेतले पर्यटन क्षेत्रलाई राष्ट्रको अर्थतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै यसका लागि मौद्रिक नीतिले विशेष सम्बोधन गर्नु आजको आवश्यकता भएको उल्लेख गरेका छन् । यस्तै, पर्यटन क्षेत्रमा गैरआवासीय नेपालीलाई जोडेर उनीहरुसँग भएको पूँजीलाई नेपाल भित्र्याउने वातावरण पनि केन्द्रीय बैंकले बनाउनुपर्ने उनको सुझाव छ ।













