ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्था मर्ज भएपछि बनेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ५३ हजार ५ सय कित्ता शेयर आज नेप्सेमा सूचीकृत भएको हो।
अब मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ। पहिलो कारोबार ८०४.९१ पैसामा हुनेछ। मर्जरको लागि कारोबार रोक्का हुनु अघि ग्रामिण विकास लघुवित्तको शेयर मूल्य ७८० रुपैयाँ थियो भने समाज लघुवित्तको शेयर मूल्य १ हजार ८ सय ७५ रुपैयाँ ८० पैसा रहेको थियो।
यी दुई संस्थाले मर्जरपछि गत कार्तिक २ गतेबाट एकिकृत कारोबार सुरु गरेका थिए। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार भएको थियो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा छ।
यी दुई संस्थाबीच फागुन १७ गते मर्जर सम्झौतामा हस्ताक्षर भएको थियोे । गत असार २८ गते दुवै कम्पनीको साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असोज २३ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज २६ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुई कम्पनी १:१ को समान स्वापमा मर्ज भएका हुन्।













