सहकारीका बचतकर्ताको बचत रकम हिनामिना गरेको आरोप लागेका तुलसी बहुमुखी सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजायको फैसला भएको छ । जिल्ला अदालत मोरङले शर्मालाई सहकारी संस्थाको बचत रकम अपचलनमा दोषी ठहर गर्दै ६ वर्ष कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला अदालत मोरङका न्यायाधीश सिता शर्मा अधिकारीको इजलासले गत आइतबार शर्मासहित सो सहकारी संस्थाकी सचिव सविना न्यौपाने र प्रबन्धक मन्दिप खवासलाई दोषी ठहर गरेको थियो ।
सोही इजलासले बिहीबार शर्मालाई ६ वर्ष कैद र ६७ करोड ५९ लाख २१ हजार २६८ रुपैयाँ बिगो र त्यति नै जरिवानाको सजाय हुने फैसला गरेको हो । त्यस्तै अपराध पीडित संरक्षण कोषमा २ करोड ७० लाख ३६ हजार हजार ८५० रुपैयाँ ७२ पैसा जम्मा गर्नुपर्ने पनि फैसलामा भनिएको छ ।
सविना न्यौपानेलाई २ वर्ष २ महिना कैद र ६ सय रुपैयाँ जरिवानाको फैसला गरेको हो । त्यस्तै मन्दिप खवासलाई २ वर्ष २ महिना कैद, २७ लाख रुपैयाँ बिगो र २७ लाख रुपैयाँ नै जरिवानाको फैसला गरेको हो । यस्तै फौजदारी कसुर पीडित राहत कोषमा १ लाख ८ हजार रकम जम्मा गर्नुपर्ने फैसला गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरी दिएको राय सहितको प्रतिवेदनको आधारमा जिल्ला सहकारी वकिलको कार्यालय मोरङले सहकारीका अध्यक्ष शर्मा र सचिव न्यौपानेसहित ८ जनाविरुद्ध मुद्दा जिल्ला अदालत मोरङमा दर्ता गरेको थियो ।
जिल्ला अदालतले सहकारीका सञ्चालकहरू आदित्य भट्टराई, उपाध्यक्ष अनिता गौतम र निर्मला पोखरेललाई भने सफाइ दिएको छ ।
शर्माले विराटनगरमा केन्द्रीय कार्यालय रहेको सहकारीबाट झापा, उदयपुर र सिराहाका शाखामार्फत सर्वसाधारणबाट संकलन भएको १ अर्ब ४५ करोड ७५ लाख ४५ हजार ९ सय ९१ रुपैयाँ बचत अपचलन गरेका थिए ।
सञ्चालकहरु बन्टी अधिकारी र छविलाल विश्वकर्मा भने हालसम्म फरार रहेकाले उनीहरुको मुद्दा अहिलेलाई मुल्तबीमा राखिको छ ।
अध्यक्ष शर्मासहित ८ जनाविरुद्ध २०७९ चैत १२ गते मोरङ अदालतमा मुद्दा दायर भएको थियो ।












