काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ परेकी छिन् । सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँले शनिबार नै संघीय संसद सचिवालयमा पत्र पठाएर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जानकारी गराएको छ ।
राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यसअघि राईमाथि स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र संगठित अपराधको कसुरमा जिल्ला अदालत काठमाडौँबाट पक्राउ पुर्जी जारी हुँदा पनि उनी लामो समयदेखि फरार थिइन् ।
उनी जनजाति कोटाबाट कांग्रेसको केन्द्रीय सदस्य छिन् । पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेकी उनी समानुपातिक सांसद हुन् ।
राई स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिव थिइन् ।












