वाणिज्य बैंकहरुले २०८३ सालको बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने एउटाले बढाएको छ । बाँकीको स्थिर छ । नयाँ ब्याजदर वैशाख १ गतेदेखि लागू हुनेछ ।
वैशाख महिनाका लागि बैंकहरूले निर्धारण गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा व्यक्तिगततर्फको ब्याजदर औसत ०.०८ प्रतिशत बिन्दुले घटेर औसत ४.४१ प्रतिशतमा ब्याजदर झरेको छ । चैत महिनामा औसत ब्याजदर व्यक्तिगततर्फ ४.४९ प्रतिशत थियो ।
वैशाखमा मुद्दती निक्षेपको संस्थागततर्फ औसत ०.०६ प्रतिशत बिन्दुले घटेर ३.२३ प्रतिशतमा झरेको छ । चैतमा संस्थागततर्फ औसत ३.२९ प्रतिशत ब्याजदर थियो ।
वैशाख महिनाका लागि ७ बैंकले ब्याजदर घटाउँदा एउटा कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ । कृषि विकास बैंकले वैशाखमा व्यक्तिगततर्फ ०.०४ संस्थागततर्फ ०.०३ प्रतिशत बिन्दुले बढाएर २.७८ प्रतिशत बिन्दु ब्याजदर तोकेको छ । यसअघि चैतमा संस्थागतको २.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
एभरेष्ट बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक र एनआईसी एशिया बैंकले ब्याजदर घटाएका छन् । एभरेष्टले व्यक्तिगततर्फ ०.२ प्रतिशत, कुमारीले व्यक्तिगततर्फ ०.०७ प्रतिशत, सिटिजन्सले ०.३५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ०.०१ प्रतिशत, हिमालयन बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशत, सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत र एनआईसी एशियाले ०.२५ प्रतिशत ब्याजदर घटाएका छन् । कृषि विकास बैंकले भने ब्याजदर बढाएको छ । अन्य बैंकले भने मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।













