नेपाल बैंकर्स संघको कार्यकारी समिति सदस्यहरूले नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरेका छन् । भेटका क्रममा उनीहरूले अर्थमन्त्रीलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
भेटघाटमा नेपाल बैंकर्स संघका अधिकारीहरूले बैंकिङ क्षेत्र सरकारसँग मिलेर अर्थतन्त्रलाई पुनरुत्थान गर्न प्रतिबद्ध रहेको बताए । उनीहरूले लगानी वृद्धि मार्फत देशको समग्र आर्थिक विकासमा योगदान दिन बैंकिङ क्षेत्र तयार रहेको र वित्तीय मध्यस्थता मजबुत बनाएर दिगो आर्थिक वृद्धि हासिल गर्न सक्रिय भूमिका खेल्न तयार रहेको जानकारी गराएका थिए ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंकिङ क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्तम्भको रूपमा स्वीकार गर्दै यसको स्थिरता र विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए । उनले वित्तीय क्षेत्रले सामना गरिरहेका चुनौती र बाधाहरूलाई सम्बोधन गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे।
यो भेटघाटले बैंकिङ क्षेत्र र सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । नेपालको अर्थतन्त्रलाई गति दिन बैंकिङ क्षेत्रको सक्रिय सहयोग महत्वपूर्ण हुने दुवै पक्षले जोड दिएका छन् ।









