नाडा अटो शो–२०२४ गत भदौ ११ देखि १६ गतेसम्म सञ्चालन भयो, जसमा कुल ८४ हजार दर्शकहरुले अवलोकन गरेका छन् । यस वर्षको अटो शो भव्यरुपमा सम्पन्न भएको प्रतिक्रिया अवलोकनकर्ता सर्वसाधारणबाटै सुनिएको छ ।
दशैँको मुखैमा आयोजना भएको अटो शोले अटोमोबाइल बजारलाई चलायमान बनाएको पनि बुझ्न सकिन्छ । गाडीहरु बुकिङको आँकडाले व्यवसायीहरुलाई उत्साहित मात्रै बनाएको छैन, केही वर्षदेखि थलिएको अटो बजार पुनः गुल्जार बन्ने स्पष्ट संकेत पनि गरेको छ ।
यसै सन्दर्भमा नाडा अटो शोको ‘रिभ्यू’, अर्थतन्त्रमा अटोमोबाइल क्षेत्रको योगदान र यस क्षेत्रका लागि अख्तियार गरिएका नीतिहरुको प्रभावका विषयमा केन्द्रित रहेर ‘बिजनेश पाना म्यागेजिन’का लागि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष करण चौधरीसँग गरिएको कुराकानीको सम्पादित अंशः
नाडा अटो शो–२०२४ सम्पन्न भएको छ । यसपालिको अटो शो तपाई नेतृत्वमा आएपछिको पहिलो हो । अटो शो २०२४ को रि–भ्यू गर्नुपर्दा कसरी गर्नुहुन्छ ?
यसपालिको अटो शो सम्पूर्ण अटो सेक्टरका लागि निकै महत्वपूर्ण थियो । यो हामीलाई एक किसिमको ‘Last ditch effort’ हो, जसबाट हामीले सम्बन्धित सरोकारवाला समक्ष अटो सेक्टर महत्वपूर्ण छ भनेर बुझाउनुपर्ने थियो । यसमा हामी सम्पूर्ण नेपालीप्रति आभारी छौँ, उहाँहरुले यो अटो शोलाई सफल बनाइदिनु भएको छ ।
यो वर्ष ८४ हजारभन्दा धेरै भिजिटर्सले अटो शो अवलोकन गर्नुभयो । जुन विगतको तुलनामा झण्डै ३० हजारभन्दा बढी हो । यस वर्षको अटो शोमा चार पाङ्ग्रे सवारीका २४ वटा ब्राण्ड, दुई पाङ्ग्रेमा १९ वटा ब्राण्ड र १२ वटा हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शनीमा थिए ।
साथसाथै, ३३ लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण सम्बन्धी कम्पनीहरू र ७ वटा वित्तीय संस्थाहरूको पनि उपस्थिति थियो । कुल मिलाएर अटो शोमा ९५ प्रदर्शकहरू सहभागी थिए, जसले १३० स्टलहरूमा आफ्ना उत्पादन र सेवाहरू प्रदर्शनीमा राखेका थिए । यो पनि विगतको भन्दा धेरै हो ।
भिजिटर्सको बाक्लो उपस्थितिलाई व्यवस्थापन गर्न र मौसमको प्रतिकुल अवस्था हाम्रो लागि केही चुनौतीपूर्ण भएपनि नाडा अटोमोबाइल एसोसिएसनको सम्पूर्ण टिमको प्रयासले यसलाई सहज बनायो । त्यसको लागि म नाडाको सम्पूर्ण टिम र व्यवस्थापन टोलीलाई धन्यवाद ज्ञापन गर्दछु ।
दशैँ, तिहारजस्ता चाडपर्वमा अटोमोबाइल व्यवसायप्रति बढी चासो रहन्छ, यस्तो किन हुन्छ ?
दशैँ, तिहार भनेको सम्पूर्ण नेपालीहरुको महान चाड हो । यो चाडको हर्ष र उत्साह नै बेग्लै हुन्छ । यो अवसरमा नयाँ सामान भित्र्याउने चाहना सबैमा हुन्छ । यो बेला हामीहरुको उगचअजबकष्लन अबउबअष्तथ पनि केही हदसम्म बढ्ने गर्दछ । वर्षभरी दुःख गरेर दशैँ, तिहारमा नयाँ समान जोड्नका लागि उपभोक्ताहरुले केही बचत पनि गरेका हुन्छन् ।
यही कारण चाडपर्वको सिजनमा गाडीको माग पनि अन्य सिजनको तुलनामा उच्च हुने गर्दछ । पुरै वर्षभरी हुने कारोबारको ३० प्रतिशत भन्दा धेरै बिक्रि यो समयमा नै हुने ट्रेन्ड छ । गाडी किन्न चाहनेले यही समय रोज्नुहुन्छ, बाइक स्कुटर किन्नेहरुले पनि यही समयलाई उपयुक्त समयका रुपमा लिने गर्नुहुन्छ । यसकारण चाडपर्वको समयमा अटोमोबाइल व्यवसायप्रति आम मानिसहरुको बढी चासो रहन्छ ।
तपाईँले अटो शोको उद्घाटनका क्रममा स्थिर नीतिको कुरा दोहोर्याउनु भएको छ, सरकारी नीतिले कहाँ कहाँ असजिलो बनाएको छ ?
आज कुनैपनि नीति स्थिर नभएको अवस्था छ । यसका उदाहरणहरु धेरै छन् । विद्युतीय सवारी साधनहरुमा कुनै साल कर घटाउनु, फेरि लगत्तै बढाउनु, पेट्रोलियम गाडीमा लागू गरिएका निराशाजनक नीतिजस्ता धेरै उदाहरणहरु छन्, जसले नीतिगत अस्थिरता छ भन्ने देखाउँछ । कुनैपनि व्यापार, व्यवसाय फस्टाउन स्थिर नीतिको भूमिका अहम् हुन्छ । एउटा लगानीकर्ताले आफ्नो प्रतिफल जहिले पनि सुनिश्चित गर्न चाहन्छ र यसको विश्वास स्थिर नीतिले मात्रै दिन सक्दछ । आजको अवस्थामा नीतिगत स्थिरता छैन । सबैतिर अन्योल छ, व्यवसायमैत्री वातावरण कतै पनि छैन ।
यसकारण हामीले हरेक समयमा स्थिर नीतिको कुरा उठाउँदै आएका छौँ । यसपालि हामीले नाडा अटो शोलाई स्थिर नीतिको पैरवी गर्ने अवसरका रुपमा लिएका थियौँ । त्यही भएर उद्घाटनको क्रममा नेपाल सरकारका अर्थमन्त्री, विभिन्न विभागका महानिर्देशकज्यूहरु, सरकारी अधिकारीहरुको सामू मैले स्थिर नीतिको ग्यारेन्टी होस् भन्ने कुरा राखेको हुँ । नीति निर्माताहरुको अगाडि यो विषय उठान गर्दा यसले सहयोग पुग्छ भन्ने विश्वासका साथ त्यो कुरा राखिएको हो ।
अटोमोबाइल क्षेत्रको कुल अर्थतन्त्रमा योगदान र प्रभाव कस्तो छ ? अथवा, अर्थतन्त्रमा यो क्षेत्रको हिस्सा कति छ ?
२०७७/२०७८ सालमा कुल गार्हस्थ उत्पादन (जिडीपी)मा २२ प्रतिशतसम्म योगदान गरेको अटो क्षेत्र अहिले घटेर ६ देखि ७ प्रतिशतको हाराहारीमा आएको छ । यसले व्यवसायीका साथै सरकारलाई पनि निराश बनाएको छ । किनकि, यो २२ प्रतिशत योगदान ६ प्रतिशत सम्ममा घट्नु भनेको व्यवसायीको मात्रै होइन, सरकारको पनि आम्दानी घट्नु हो । अस्थिर नीति र नीतिमा आवश्यकताभन्दा बढी कडाई हुँदा यस्तो भएको हो भन्ने हाम्रो ठहर छ ।
वित्त नीति र आर्थिक नीतिले अटो सेक्टरलाई कुन रुपमा हेर्नुपथ्र्यो, अहिले कुन रुपमा हेरेका छन् ?
सर्वप्रथम त अटो सेक्टरलाई विलाशिताको वर्गीकरणबाट हटाउनु जरुरी छ । अटोमोबाइल भनेको अहिलेको समयमा विलाशिता भन्दा पनि आवश्यकताको वस्तु वा साधन भइसकेको छ ।
हो, ईभीप्रतिको सकारात्मक नीतिले अहिले ग्राहकको आकर्षण बढेको छ । यसमा पनि निरन्तरता हुनु जरुरी छ । तर, अटोमोबाइल सेक्टर ईभीको लागि मात्र राम्रो भएर उँभो लाग्दैन । ईभी भनेको अटोमोबाइलको एउटा सेग्मेन्ट मात्र हो ।
यहाँ, पेट्रोलियम गाडीदेखि पार्ट्स, लुब्रिकेन्ट्स, टायरजस्ता व्यवसायको ठूलो आवश्यकता हुन्छ । यो कुरामा नीति निर्माताहरुले ध्यान दिएको पाइँदैन । सरकारका नकारात्मक नीतिहरुका कारण ती वस्तुको व्यवसाय गर्नेहरु पलायन हुने अवस्थामा छन् । यसतर्फ बेलैमा सचेत हुन आवश्यक छ । नाडाले यसतर्फ पनि सरकार, राष्ट्र बैंक लगायतका विभिन्न निकायहरुको ध्यानाकर्षण गराउँदै आएको छ ।
(बिजनेश पाना म्यागेजिनबाट साभार)













