प्रभु इन्स्योरेन्सले गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि सरकारमार्फत २५ लाख रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्कोप उद्दार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपैयाँ आर्थिक सहयोग गरिएको प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिएका छन् ।
प्रभु इन्स्योरेन्सका अध्यक्ष मल्ल, सांसद समेत रहेका प्रभु गु्रपका अध्यक्ष देवि प्रकाश भट्टचन एवम् इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यले २५ लाख रुपैयाको चेक संयुक्त रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका छन् ।
मुलुकलाई विपत्ती आईलागेको अवस्थामा राहत तथा पुर्नस्थापनाका लागि सहयोग गरिएको अध्यक्ष मल्लले बताएका छन् । उनका अनुसार प्राकृतिक विपत्तिले मुलुक नै समस्यामा परेका बेला निजी क्षेत्र र औद्योगिक व्यवसायिक प्रतिष्ठानहरुले पनि सरकारलाई सहयोग गर्नुपर्छ भन्ने भावनाले प्रभु इन्स्योरेन्सका तर्फबाट सहयोग गरिएको हो ।
नेपाल निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका मल्लले बाढी पहिरोबाट पीडित भएका परिवारको बीमा सहजीकरणका लागि पनि काम भईरहेको जनाएका छन् । बाढी तथा पहिरोका कारण भएको क्षति तथा हानी नोक्सानीको प्रभु इन्स्योरेन्समा बीमा गरेका नागरिकका लागि सम्पत्तिको दाबी गर्न समेत उनले आग्रह गरेका छन् ।
सो क्रममा प्रधानमन्त्री ओलीले अहिलेको समयमा प्राकृतिक विपत्तिबाट पीडित बनेका जनताको राहत तथा पुनःस्थापना नै सरकारको प्राथमिकतामा रहेको जनाउँदै यसमा सहयोग गरेकोमा प्रभु इन्स्योरेन्सलाई धन्यवाद दिएका छन् ।













