नेपालका १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने ठेक्का भारतीय कम्पनीले पाउने भएको छ । भारतको केपीएमजी अस्योरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलएलपीले नेपालका १० वटा ठूला वाणिज्य बैंकको ‘लोन पोर्टफोलियो रिभ्यु’ गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकले ‘लोन पोर्टफोलियो रिभ्यु’को लागि आशयपत्र माग गर्दा ५ वटा कम्पनी सर्ट लिस्टमा परेका थिए । ति मध्येबाट केपीएमजी अस्योरेन्स मात्र प्राविधिक रुपमा योग्य ठहरिएको राष्ट्र बैंकले जनाएको छ । एउटा मात्र कम्पनी प्राविधिक रुपमा योग्य ठहरिएकोले वित्तीय प्रस्ताव खोल्नु अघि नै सोहि कम्पनीले ठेक्का पाउने निश्चित भएको हो । वित्तीय प्रस्ताव भने आगामी सेप्टेम्बर १ तारिखमा खोलिने छ।
मर्जर तथा प्राप्ति पश्चात ठूलो बनेका १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु हुने छ। जसअनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक, नबिल बैक, ग्लोबल आइएमई बैक, प्रभु बैंक, एनएमबि बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंकको पोर्टफोलियो रिभ्यु हुनेछ । यसमा बैंकको अडिट भने हुने होइन ।
अन्तराष्ट्रिय मुद्रा कोषको शर्त अनुसार नेपालका १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु हुन लागेको हो । यसलाई राष्ट्र बैंकले यसलाई सम्पत्ति गुणस्तर समीक्षा भनेको छ । राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा बैंकको कर्जा, र सम्पतिलगायतका खाता जाँच गरिन्छ। बैंकहरुले ऋण कहाँ र कस्तो क्षेत्रमा दिएका छन्, र त्यसको ताजा अवस्था के छ भनेर समीक्षा गरिन्छ।
अन्तराष्ट्रिय मुद्रा कोषका अनुसार लगानी कै कारण भविष्यमा बैंकहरुमा ठूलो जोखिम नआओस् भनेर सम्पत्ति गुणस्तर समीक्षा गर्ने गरिन्छ । यो अन्तराष्ट्रिय अभ्यास नै भएको कोषको भनाई छ। १० ठूला बैंकको समीक्षा गर्दा यसले समग्र बैंकको अवस्था देखाउने र त्यसको नतिजा अन्य बैंक तथा वित्तीय संस्थालाई मार्गदर्शन हुने बताईएको छ।
नेपालले अन्तराष्ट्रिय मुद्रा कोषसँग विस्तारित कर्जा सुविधा अन्तर्गत ऋणको लागि सम्झौता गर्दा नेपालले १० ठूला वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यु गर्नु पर्ने शर्त थियो । सोहि अनुसार यस खालको रिभ्यु हुन लागेको हो । अहिले बैंकहरुले देखाएको खराब कर्जा वास्तविक नभएको भन्दै यो रिभ्युपछि बैंकहरुको खराब कर्जा अझै बढ्ने मुद्रा कोषको आँकलन छ।









