भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ इन्डिया (NSE) ले लगभग ३० हजार करोड भारतीय रुपैयाँ (३ खर्ब) को आईपीओ ल्याउने तयारी गरेको छ। यो भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ हुन सक्ने अनुमान गरिएको छ।
यस अघि भारतको दुई ठूलो आईपीओ मध्ये हुन्डाई मोटर इन्डियाको आकार २७,८७० करोड र एलआईसीको आकार २०,५५७ करोड थियो। एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्जको आईपीओले अघिल्ला दुवै रेकर्ड तोड्ने अपेक्षा गरिएको छ।
यद्यपि यो फरक खालको आईपीओ रहेको छ । यो अफर फर सेल प्रकृतिको आईपीओ हो। अर्थात् कम्पनीले नयाँ सेयर जारी गर्ने छैन। अहिले भएका लगानीकर्ताले शेयर बिक्री गर्न लागेका हुन् र कम्पनीलाई कुनै नयाँ पुँजी आउँदैन। यसमा हाल भएका शेयरधनीले १४.८९ करोड कित्ता सेयर बेच्ने छन् जुन शनल स्टक एक्सचेञ्जको करिब ६ प्रतिशत हो। आईपीओ पश्चात कम्पनीको सूचीकरण बम्बई स्टक एक्सचेन्जमा हुनेछ ।
भारतको पुँजीबजारको नियामक निकाय सेबीले ४ सेप्टेम्बर २०२६ मा कम्पनीलाई अन्तिम अब्जरभेसन (स्वीकृति) दिएको छ। यससँगै लगभग एक दशक लामो प्रक्रिया अगाडि बढेको छ। सेप्टेम्बर दोस्रो हप्तातिर मूल्य ब्यान्ड घोषणा हुने, १५ सेप्टम्बरमा आवेदन खुल्ने र २४-२५ सेप्टेम्बरमा सूचीकरण हुने तयारी छ ।
स्टेट बैंक अफ इन्डिया, MS Strategic (Mauritius), क्यानाडा पेन्सन प्लान इन्भेस्टमेन्ट बोर्ड, अरन्डा इन्भेस्टमेन्ट्स, बैंक अफ बडोदा, स्टक होल्डिङ कर्पोरेसन अफ इन्डिया, विभिन्न सरकारी बीमा कम्पनीहरू (GIC, New India Assurance आदि) ले आफ्नो शेयर बेच्न लागेका हुन् ।
नेशनल स्टक एक्सचेञ्जले २०१६ मा नै आईपीओको अनुमति माग गरेको थियो तर को-लोकेसन र डार्क फाइबर विवादका कारण रोकिएको थियो। हालै सेबीसँग करिब ₹१,४९१ करोडको सेटलमेन्ट भएको छ र सर्वोच्च अदालतले पनि सम्बन्धित अपीलहरू टुङ्ग्याएको छ। यसपछि बाटो खुलेको हो।









