एभरेष्ट बैंक लिमिटेडले र बैंकका कर्मचारीहरुले बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुन:स्थापनाका लागि ३ करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहयोग प्रदान गरेका छन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत र बैंकका कर्मचारीहरूको व्यक्तिगत योगदान समेत गरी कुल ३ करोड ११ लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरेको हो ।
बैंकले संस्थागत रुपमा बैंकको तर्फबाट २ करोड ५१ लाख रुपैयाँ र बैंकमा कार्यरत कर्मचारीहरूको तर्फबाट ६० लाख ५४ हजार ६०५ रुपैयाँ ३८ पैसा संकलन गरिएको बैंकले जनाएको छ । बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।
बैंकले यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विपद्को समयमा अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्थानीय निकायहरूप्रति बैंकले आभार प्रकट गरेको छ ।









