भोटेकोशी बाढीका कारण ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने रेडक्रसले जनाएको छ । स्विट्जरल्याण्डमा अवस्थित ‘इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज’ (आइएफआरसी) ले करिब ९३ हजार मानिस प्रभावित भएको हुन सक्ने र दुर्गम र कठिन क्षेत्रहरूमा अझै पनि क्षतिको मूल्यांकन भइरहेको जनाएको हो ।
भौगोलिक विकटता र क्षतिग्रस्त पूर्वाधारका कारण विपद्को यकिन मूल्यांकन गर्न र प्रभावित मानिसहरूसम्म सहायता पुर्याउन गाह्रो भइरहेको रेडक्रसले जनाएको छ ।
साथै, रेडक्रसले उक्त बाढी र पहिरोको सामना गर्न ३ करोड १० लाख डलर (४ अर्ब ७३ करोड ६ लाख रुपैयाँ) को आपत्कालीन सहयोगका लागि अपिलसमेत गरेको छ । रेडक्रसले यसअघि १० लाख स्विस फ्र्याङ्क उपलब्ध गराएको छ ।











