नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा अटो शो २०२६’ विगत वर्षहरुको भन्दा भव्य र विशेष हुने बताएका छन् । बिजनेश पानासँगको कुराकानीमा उनले हरेक वर्षको अटो शो कुनै न कुनै रुपमा विशेष रहँदै आएको स्मरण गर्दै यस वर्षको अटो शो पनि विशेष हुने बताएका हुन् ।
‘हरेक वर्ष नाडा अटो शोले नयाँपन प्रस्तुत गर्दै आएको छ’ उनले भने, ‘यसवर्ष नेपालमै बनेको यात्री स्कूटर अटो शोमा लन्च हुनेछ । यो नेपालको अटोमोबाइल्स उद्योगका लागि गौरव र हर्षको क्षण हुनेछ ।’
उनका अनुसार यसका साथै, २ सयभन्दा बढी स्टल र ठूलो संख्यामा हुने सवारी साधनको लन्च, नेपालमा बनेका अटोमोबाइल्स कम्पोनेन्टहरुको प्रदर्शनीका लागि छुट्टै ‘नेपाल पेभेलियन’ जस्ता विशेषताले अटो शोलाई निकै भव्य बनाउनेछ ।
कोषाध्यक्ष अग्रवालले यसवर्षको अटो शो नाडाका लागि अझ बढी विशेष रहने बताएका छन् । नाडा स्थापनाको ५० वर्ष पुगेको अवसरमा यसपालीको अटो शोलाई नाडाले ‘स्वर्ण जयन्ती उत्सव’मा रुपमा आयोजना गर्न लागेको भन्दै उनले अटोमोबाइल्स व्यवसायी, पारखी र अटोमोबाइल्स प्रेमीहरुका लागि नाडा अटो शो २०२६ हरेक कोणबाट विशेष हुने बताएका छन् ।
उनले यसवर्ष नाडाले पार्किङमा विशेष ध्यान दिएको छ । पुलिस क्लब, नेशनल ट्रेडिङ, सुन्धारा लगायतका क्षेत्रमा पार्किङको प्रबन्ध गरिएको र ति स्थानबाट भिजिटर्सहरुलाई सटल बस सेवामार्फत आउने जाने प्रबन्ध मिलाइएको अग्रवालको भनाइ छ । भकृटीमण्डप, शहीदगेट, सुन्धारा, बीर हस्पिटल हुँदै सटल बस निरन्तर घुमिरहने छ ।
साथै, ५ दिन नै विभिन्न नीतिगत बहसका लागि ‘टक शो’ आयोजना हुने, आगन्तुकहरुलाई उनीहरुको चाहेको स्टलमा पु¥याउन हेल्प डेस्कको प्रबन्ध, बैंक तथा बीमा कम्पनीहरुका स्टलबाट तत्कालै प्राप्त हुने सुविधा जस्ता कुराहरुले अटो शोलाई अवलोकनकर्तामैत्री बनाउने प्रयास गरिएको उनको भनाइ छ ।
उनले अटोमोबाइल्स क्षेत्र विलासी नभई अत्यावश्यक क्षेत्र भएकाले सरकारले उद्योग सरहकै मान्यता प्रदान गर्नुपर्ने मागसमेत गरेका छन् । ‘यातायात बिनाको जनजीवन परिकल्पना गर्न सकिँदैन । यसकारण यातायात क्षेत्र भनेको उत्पादनमूलक क्षेत्र नै हो’ उनले भने, ‘सरकारले यस क्षेत्रका लागि पूर्वानुमान योग्य नीतिहरु ल्याउनुपर्छ । जसका कारण लगानी बढ्न गई रोजगारी पनि सिर्जना हुन्छ ।’
उनले सवारी साधनको बिक्री पछिको सेवा अझ महत्वपूर्ण हुने भएकाले स्पेयर पार्टस् व्यवसायलाई पनि उत्तिकै ध्यान दिनुपर्ने आवश्यकता औल्याएका छन् । अग्रवालले अवैध रुपमा हुने स्पेयर पार्टस्को आयातलाई रोक्न सरकारले भन्सार प्रशासनलाई थप बलियो र व्यस्थित बनाउनुपर्ने बताएका छन् ।









