नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा रोजगार सम्बन्धी नीति, सामाजिक संवाद र रोजगारदाता हितको प्रतिनिधित्व गर्ने प्रमुख संस्थागत संयन्त्रका रूपमा रहेको रोजगारदाता परिषदको गठन प्रक्रियाले पूर्णता पाएको छ ।
परिषद्को पहिलो बैठकमा रोजगारदाता परिषदका सभापति एव्म महासंघका उपाध्यक्ष प्रबल जंग पाण्डेको सभापतित्वमा गठित परिषदका सदस्यहरूलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।
बैठकले महासंघको विधान, २०४९ को दफा ४३.१ बमोजिम परिषदका निर्वाचित एसोसियट सदस्यहरूमध्येबाट एक जनालाई उपसभापतिमा मनोनयन गर्ने व्यवस्थाअनुसार बाबुकाजी कार्कीलाई रोजगारदाता परिषदको उपसभापतिमा मनोनयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।
रोजगारदाता परिषदका सभापति एवम् महासंघका उपाध्यक्ष पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघ नेपालको निजी क्षेत्रको आधिकारिक रोजगारदाता प्रतिनिधि संस्था भएकाले परिषदले सरकार, श्रमिक संगठन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँगको त्रिपक्षीय सामाजिक संवादलाई अझ प्रभावकारी, परिणाममुखी र विश्वासयोग्य बनाउने बताएका छन् ।









