आयाल निगमले डिजेलमा ३० रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ मूल्य घटाएसँगै यातायात व्यवसायीहरुले गाडी भाडा पनि समायोजन गर्न अनुरोध गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले इन्धनको मूल्य बढ्दा भाडा पनि बढाउन र घट्दा भाडा पनि घटाउन यस अघिदेखि नै माग गर्ने गथ्र्यो । सोही अनुसार तेलको मूल्य घटेसँगै गाडी भाडा घटाउन व्यवसायी आफैँले अनुरोध गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले इन्धनको मूल्य घटेसँगै सार्वजनिक सवारीको भाडा पनि समायोजन गर्न सरकारसँग माग गरेका हुन् ।
‘सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकोमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको तर्फबाट सरकारलाई धन्यवाद दिँदै स्वचालित प्रणालीबमोजिम भाडा समायोजन गरिदिन सरकारलाई अनुरोध गर्दछु’ उनले भनेका छन् ।
उनले स्पष्ट मापदण्डका आधारमा समयानुकूल भाडा समायोजन गर्ने प्रणाली लागू गरिनु आजको आवश्यकता भएको बताउँदै वैज्ञानिक, पारदर्शी र न्यायोचित भाडा समायोजन प्रणाली कार्यान्वयन गर्न आग्रह गरेका छन् । जसबाट यात्रुको हित, व्यवसायीको दिगोपना र समग्र सार्वजनिक यातायात प्रणालीको सन्तुलित विकासमा योगदान पुर्याउने उनको विश्वास छ ।
सार्वजनिक यातायातको भाडा निर्धारण गर्दा इन्धनको मूल्य मात्र नभई सवारी साधनको सञ्चालन खर्च, मर्मतसम्भार, बीमा, श्रमिकको पारिश्रमिक, स्पेयर पार्ट्सको मूल्य, बैंकिङ लागत तथा समग्र आर्थिक सूचकलाई समेत वैज्ञानिक आधारमा मूल्याङ्कन गरिनुपर्ने अध्यक्ष सिटौलाको भनाइ छ ।












