सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ ।
शुक्रबारको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रिक्त रहेको बोर्डको अध्यक्षमा भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी कैलालीका स्थायी बासिन्दा हुन् ।
भट्टसँगै विनयदेव आचार्य र मुकुन्दकुमार क्षेत्री पनि सिफारिसमा परेका थिए । तर, आचार्य र क्षेत्रीलाई उछिन्दै भट्ट नियुक्त भएका छन् ।
यसअघि सरकारले सेबोनको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञका रुपमा भुवनकुमार दाहाल सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो ।
आफ्ना दाई गोपाल भट्टले पनि आवेदन दिएपछि उपाध्यक्ष गुणाकर भट्टले सिफारिस समितिको संयोजकबाट राजीनामा दिएका थिए । त्यसपछि आयोगका सदस्य सञ्जय आचार्यलाई सिफारिस समितिको संयोजक बनाइएको थियो ।
सिफारिस समितिले उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्तापछि झण्डै एक महिना अगाडि नै मन्त्रिपरिषदमा ३ जनाको नाम नाम सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा शुक्रबारको मन्त्रिपरिषद बैठकले डा. भट्टलाई अध्यक्षमा नियुक्त गरेको हो ।
डा. भट्टले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गरेका छन् । उनी राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक पनि हुन् । केन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेर उनी सेवानिवृत्त भएका थिए ।
उनले यसअघि नेपाल एसबीआई बैंक (२०२२ अप्रिल–२०२६ अप्रिल) र सानिमा क्यापिटल (२०२०–२०२२)मा स्वतन्त्र सञ्चालक भएर पनि काम गरेका थिए । उनी व्यवस्थापन शंकायका प्राध्यापकसमेत हुन् ।
सेबोनको अध्यक्षका लागि आह्वान भएको दरखास्तमा ४७ जनाले आवेदन दिएका थिए । आवेदकमध्येबाट सिफारिस समितिले ४ जनाको नाम सर्टलिस्ट गरेको थियो । अन्तरवार्ता पश्चात डा. नवराज अधिकारी बाहिरिएका थिए ।
सेबोनमा नयाँ अध्यक्ष नियुक्त भएसँगै अब आईपीओ निष्काशन अनुमति प्रदान लगायतका रोकिएका कामहरु अघि बढ्ने छन् । नवनियुक्त अध्यक्ष भट्टले अब साढे २ वर्ष सेबोनको नेतृत्व गर्नेछन् । यसअघिका अध्यक्ष शन्तोषनारायण श्रेष्ठले कार्यकाल बाँकी छँदै राजीनामा दिएपछि सेबोनमा अध्यक्ष पद रिक्त भएको थियो ।












