सम्पत्ति शुद्धीकरण कसुरमा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल डिल्लीबजार कारागार चलान भएका छन्। विशेष अदालतको आदेश उनीहरु डिल्लीबजार कारागार चलान भएका हुन् ।
आज विशेष अदालतका अध्यक्ष न्यायधीश सुदर्शन देव भट्ट तथा सदस्य न्यायाधीशद्वय उमेश कोइराला र विदुर कोइराको संयुक्त इजलाशले उनीहरुलाई कारागार चलान गर्न आदेश दिएको थियो । पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी मुद्दा पुर्पक्षको लागि दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी थुनूवा पूर्जी दिई सम्बन्धित कारागार कार्यालयमा पठाईदिन अदालतले आदेश दिएको थियो । सोहि अनुसार उनीहरु जेल चलान भएका हुन् ।
अदालतले सुलभ अग्रवालको स्वास्थ्य अवस्था समेतलाई मध्यनजर गरी आवश्यकता अनुसार निजको स्वास्थ्योपचारको लागि उचित व्यवस्था गर्न पनि आदेश दिएको छ । अदालतले आरोपपत्रसाथ पेश गरिएको गाडी नम्बर ०१-०३३ च १ को गाडी प्रचलित कानून बमोजिम व्यवस्थापनको लागि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको छ।
दशी स्वरुप पेश भएका मोबाइल समेतका सामानहरू अदालतको जिन्सीमा आम्दानी बाँध्न र वरामद भई आएका विदेशी विनिमय अमेरिकी डलर र थाई भाट नेपाल राष्ट्र बैंकमा पठाउन अदालतले आदेश दिएको छ।












