Saturday, May 23, 2026
spot_img

बजेटमा के चाहन्छन् युवा व्यवसायी ?

spot_img
spot_img

सरकार अहिले आर्थिक वर्ष २०८३/०८४ को बजेट लेखनमा व्यस्त छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले हरेक दिन बजेटसँग सम्बन्धित छलफल गर्दै सुझाव लिइरहेका छन् । निजी क्षेत्रका उद्योगी व्यवसायीदेखि पूर्व अर्थमन्त्रीहरुसँग समेत उनले बजेटका लागि सुझाव लिइसकेका छन् ।

साथै, अहिले युवा उद्यमशीलता र युवामैत्री व्यवसायिक वातावरणको आवाज पनि सँगसँगै उठिरहेको छ । अहिलेको सरकारले ‘पोलिसी डिपार्चर’ गर्ने खालको बजेट ल्याउनुपर्ने युवा पुस्ताको आवाज छ ।

मनिष श्रेष्ठ (अध्यक्ष, सीएनआई वाईईएफ)

सीएनआई वाईईएफका अध्यक्ष मनिष श्रेष्ठका अनुसार आधुनिक नेपालमा युवा व्यवसायी र नवप्रवर्तनकारीहरुको चाहना अपेक्षा पूराना पुस्ताका उद्योगीहरुको भन्दा फरक र अत्याधुनिक छ । उनले यो विषय बुझेर सरकारले बजेट तर्जुमा गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

‘आजको युवा पुस्ता सरकारी अनुदान वा सहुलियत ब्याजको लोकप्रिय नारा मात्र चाहँदैन, उनीहरू एउटा यस्तो व्यवसायिक वातावरणको खोजीमा छन् जहाँ घर–जग्गा जस्ता भौतिक सम्पत्ति नभएपनि उनीहरूको आइडिया, बौद्धिक सम्पत्ति र क्यास फ्लोलाई धितो मानेर बैंकिङ प्रणालीले उद्योगमैत्री ऋण लगानी गरोस्’ उनी भन्छन्, ‘विशेष गरी प्रविधि, फिन्टेक र डिजिटल वाणिज्यमा संलग्न युवाहरूको मुख्य अपेक्षा अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीको सरलीकरण र वैदेशिक पुँजी भित्र्याउने प्रक्रियामा रहेका झन्झटिला कानुनी ठेसहरूलाई पूर्ण रूपमा फुकाउनेतर्फ यो बजेट लक्षित होस् ।’

यसका साथै, युवा उद्यमीहरूको सबैभन्दा ठूलो माग व्यवसाय सञ्चालनमा न्यूनतम सरकारी हस्तक्षेप र झन्झटमुक्त वातावरणको निर्माण पनि रहेको उनको भनाइ छ । उद्योग खोल्दा वा व्यवसाय सञ्चालन गर्दा दर्जनौं सरकारी कार्यालय धाउनुपर्ने, एउटै कागजपत्र पटक–पटक बुझाउनुपर्ने र अनेकन् अड्चनहरू झेल्नुपर्ने वर्तमान अवस्थाले सिर्जनशील युवाहरूलाई निरुत्साहित बनाएको बताउँदै उनले सरकारले नियन्त्रणमुखी मानसिकता त्यागेर सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । जसका लागि विद्यमान बाझिएका पुराना कानुनहरू संशोधन गरी राज्यको प्रशासनिक र कानुनी हस्तक्षेपलाई न्यूनतम विन्दुमा झार्नु आजको अनिवार्य आवश्यकता रहेको सीएनआई वाईईएफको भनाइ छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, युवाहरूका लागि कर छुटभन्दा पनि बजारको सुनिश्चितता बढी आवश्यक रहेको श्रेष्ठ बताउँछन् । नयाँ आइडियामा काम गर्दा स्पष्ट कानुन नभएको बहानामा युवाहरूलाई सिधै अपराधी जस्तो व्यवहार गर्ने र व्यवसाय नै बन्द गराइदिने प्रवृत्ति (जस्तै सवारी साझेदारी वा अनलाइन डेलिभरीमा देखिएका समस्या) अन्त्य हुनुपर्ने र सरकारले युवाहरूलाई प्रोत्साहन गर्न नियामकीय स्यान्डबक्स’ को व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । जसले गर्दा नयाँ प्रविधिलाई सुरुमै प्रतिबन्ध लगाउनुको साटो परीक्षण गर्ने कानुनी ठाउँ दिने श्रेष्ठ बताउँछन् ।

साथै, सरकारी खरिद प्रक्रियामा नेपाली युवाहरूका डिजिटल र भौतिक उत्पादनलाई अनिवार्य प्राथमिकता दिने नीति ल्याएर राज्य आफैं युवाहरूको पहिलो ग्राहक बनिदिनुपर्ने र यसले उनीहरूलाई विदेश पलायन हुनबाट रोकेर स्वदेशमै भविष्य देख्ने आधार सिर्जना गर्ने अध्यक्ष श्रेष्ठको विश्वास छ ।

हिमालयजंग क्षेत्री (युवा व्यवसायी)

युवा व्यवसायी हिमालयजंग क्षेत्रीले पनि उद्यम र व्यवसायका लागि दर्तादेखि त्यसको नवीकरण लगायतका प्रक्रियामा सरलीकरण गर्न आवश्यक रहेको बताएका छन् । युवाहरुकै बलमा संसदमा एकद बहुमतसहित बनेको वर्तमान सरकारले युवाहरुलाई नै केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

‘वान डोर सिस्टमको कुरा हुन्छन्, तर एउटा व्यवसाय दर्ता गर्न, नवीकरण गर्न, कर तिर्न, ऋणको प्रोसेस चाल्न अहिलेपनि कार्यालयका झ्यालैपिच्छे लाइन बस्नुपर्ने बाध्यता छ’ उनी भन्छन्, ‘यो कुरामा सुधार आवश्यक छ ।’

युवाहरुका लागि उद्यम र व्यवसायमा लाग्न प्रोत्साहन हुने गरी सरकारले बजेटमा कार्यक्रमहरु समावेश गर्नुपर्ने आवश्यकता देखाउँदै क्षेत्रीले कर्मचारी प्रशासनको समेत सुधार गर्दै उनीहरुको मनोबल बढाउने खालको बजेट आउन आवश्यक रहेको बताएका छन् । ‘काम गर्ने मान्छे (खासगरी उद्यमी र व्यवसायीहरु)का लागि समयको महत्व ज्यादा हुन्छ’ उनी भन्छन्, ‘कहिले १० रुपैयाँ बचाउन १० मिनेट हिड्नुपर्छ, कहिले १० रुपैयाँ खर्च गरेर १० मिनेट बचाउनुपर्छ । यो भनेको आवश्यकताका आधारमा निर्धारण हुने कुरा हो ।’

साथै, उनले युवाहरुलाई उद्यमी र व्यवसायी बनाउन सरकारले कर सहुलियत जस्ता विषयहरुलाई पनि ध्यान दिनुपर्ने बताएका छन् । ‘युवाले चलाएको उद्यम र गरिरहेको व्यवसायमा कर छुट दिन सकिन्छ (निश्चित अवधिका लागि) । साथै, कसैले तोकिएको समयभन्दा पहिल्यै तोकिएको क्वालिटीको काम गर्छ भने उसलाई पनि ट्याक्समा इन्सेन्टिभ दिन सकिन्छ । यस्ता कुराहरुले युवाहरुलाई उद्यमी बनाउन र व्यवसायमा लाग्न प्रेरित गर्छ । किनभने, राज्यले नै प्रेरित गरेको खण्डमा मात्रै युवाले विश्वास गर्छ र उद्यमशीलता बढ्छ । आजको सानो उद्यम नै भविष्यको कर्पोरेट बिजनेश बन्छ ।’

उनले स्टार्टअप, एसएमईज जस्ता युवा र महिलाहरुले चलाइरहेका उद्यम र व्यवसायलाई प्रोमोट गर्ने खालको बजेट ल्याउन अर्थमन्त्रीलाई सुझाव पनि दिएका छन् ।

जीवनजंग शाही (युवा अटोमोबाइल्स व्यवसायी)

अटोमोबाइल्स व्यवसायी जीवनजंग शाहीले पनि सरकारले एउटा क्षेत्रलाई कर संकलनको ‘मेजर सेक्टर’का रुपमा नलिई दायरा बढाउनुपर्ने बताएका छन् । एलआरआर मोटर्सका सञ्चालकसमेत रहेका उनी व्यवसाय र उद्यममा लाग्छु भनेर अघि बढेको युवालाई पहिलो ‘स्टेप’मै अड्काउने काम हुने गरेको बताउँदै सुरुबाटै ट्रयाकमा हिड्न सिकाउनुपर्ने र यसको मूल दायित्व सरकारकै भएको बताउँछन् ।

‘कुनै काम सुरु गर्‍यो, कच्चा पदार्थ वा तयारी वस्तु आयात गर्नका लागि भन्सारको रेट र त्यहाँको व्यवहार यति कुरुप छ कि, त्यो युवा तर्सिहाल्छ । अनि उ बाध्य भएर पहिलो स्टेपबाटै कि बाहिरिन्छ, कि गलत तरिकाले काम गर्नुपर्ने अवस्थामा पुग्छ’ शाही भन्छन्, ‘स्वरोजगार कोष, स्टार्टअप लोन जस्ता धेरै फण्डहरु भएपनि त्यसको व्यवस्थित उपयोग हुन सकेको छैन । यसमा युवाहरुलाई जोड्ने र अन्टरप्रेनरसीप बढाउने काम हुनुपर्‍यो । यो काम अब आउने बजेटबाट होस् भन्ने हाम्रो चाहना छ ।’

उनले अहिले अटोमोबाइल्स व्यवसायसहित धेरै नयाँ प्रविधिमा आधारित उद्यम व्यवसायका सम्बन्धमा सरकारको ‘रिसर्च’ नै कम भएको समेत बताएका छन् । ‘ईभीको हकमा कुरा गर्ने हो भने मोटर पावरका आधारमा कर लगाइन्छ तर, मोटरको विषयमा हाम्रा नीति निर्माताहरुको अध्ययन नै भएको पाइँदैन’ उनले भने, ‘कति कति किलोवाटको मोटर आउँछ ? कस्तो सवारीमा कस्तो मोटर जडान गरिन्छ ? जस्ता सामान्य विषयमा पनि डेप्थ स्टडी भएन । यदि मोटरकै आधारमा ट्याक्स लगाउने हो भने सबैभन्दा पहिला मोटर सम्बन्धि अध्ययन हुनुपर्‍यो, चाहे चीनमा गएर होस् वा अन्य मुलुकमा गएर किन नहोस् । प्रविधिको वास्तविकता के हो भनेर यकिन गर्नुपर्‍यो । पहिलाका सरकारहरुबाट यो काम भएन, अनि ९९ किलोवाटको पोलिसी ल्याइयो । यो ठूलो गल्ती थियो ।’

उनले ईभीमा किलोवाटकै आधारमा कर लगाउने हो भने ७० किलोवाटसम्म एउटा स्ल्याब र ७१ देखि २०० किलोवाटसम्म अर्को स्ल्याब निर्धारण गर्न समेत आग्रह गरेका छन् । यसो गरिँदा अहिले जस्तो व्यवसायीले ९९ किलोवाटको फण्डा गरेर चलखेल गरे भन्ने कुनै गुन्जायस नहुने उनको भनाइ छ ।

साथै, उनले विद्युतीय गाडीको नम्बर प्लेट नै छुट्टै हुनुपर्ने पनि बताएका छन् । विदेशमा ईभीको नम्बर प्लेट हरियो हुने र टाढैबाट यो गाडी ईभी हो भनेर चिनिने बताउँदै उनले आगामी बजेटमार्फत नेपालमा पनि यसको सुरुवात होस् भन्ने आफूहरुको चाहना रहेको बताए ।

साथै, हरेक नयाँ प्रविधिलाई प्रोत्साहन गर्नुपर्ने राज्यको दायित्व भएको बताउँदै नवप्रवर्तनलाई प्रोत्साहन गरे मात्रै उद्यम र व्यवसायमा युवाहरुको सहभागीता बढ्ने उनको बुझाई छ । ‘पोलिसी मेकरले युवाहरुका कुरा सुनेर, उनीहरुका आवश्यकता बुझेर नयाँ र युवामैत्री पोलिसी बनाए मात्रै युवाहरु उद्यम र व्यवसायमा आकर्षित हुन्छन्’ उनले भने, ‘अबको दुनियाँ एउटा परिवार जस्तो भइसक्यो । हरेक दिन नयाँ नयाँ प्रविधि आइरहेका छन् । हामीले पनि अबको ५ वर्ष, १० वर्षको स्टडी गरेर हाम्रा पोलिसीहरु बनाउनुपर्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सोमबारसम्म दुर्गा प्रसाईंको अनुसन्धान सक्न अदालतको आदेश

मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि दोस्रो पटक म्याद थप भएको...

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज,...

गौतमश्री सहकारीका ऋणीहरूको नाम सार्वजनिक

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय...

गरिब देशबाट स्तरोन्नति हुने समय ३ वर्ष थप्न नेपालले पठायो पत्र

अतिकम विकसित राष्ट्र (एलडीसी) को सूचीबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको...

संविधान संशोधनको लागि सरकारले आम नागरिकसँग माग्यो सुझाव, कसरी दिने ?

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले...

सार्वजनिक सवारी साधनको दर्ता रोक्ने निर्णयमा पुनर्विचार गर्न चेम्बरको माग

नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको दर्ता रोक्ने...
spot_img