जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि राजमार्गको कटुन्जेबेसी (काभ्रे) – नेपालथोक (सिन्धुली) सडकखण्डमा रातको समयमा सवारी चलाउन रोक लगाएको छ । आज वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि वि.पि.राजमार्गको कटुन्जेबेसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रुपमा रोक लगाउने निर्णय भएको हो ।
उक्त अवधि पश्चात् पनि बर्षा, रोशीखोलामा आउने सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने प्रशासनले जनाएको छ ।
उपर्युक्त सम्बर्धमा वि.पि. राजमार्गको कटुजेबेसी – नेपालथोक खण्ड भएर यात्रा गर्नु पूर्व इलाका प्रहरी कार्यालय मंगलटारको फोन नं ९८५१२८५४००, प्रहरी चौकी भकुण्डेको फोन नं ९८६३१२२६५७, प्रहरी चौकी कटुजेबेसीको ९५६३१९२६५६, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको फोन नं १०० र ९८५१२८४३७६, तथा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (DEOC) काभ्रेको फोन नं. ०११-५४०३२०, टोल फ्रि नं १८१०५०००३७७ मा सम्पर्क गरी सडकको अवस्था बुझेर मात्र यात्रा गर्न जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ।
हिजो मंगलबार उक्त सडकको रोशी गाउँपालिका-७, घुमाउने – चारसयबेंसी स्थित रोशीखोलामा आएको भेल बाढीमा यात्रु सहित सवारी साधन फसेका थिए। उनीहरुको उद्दार गर्दा कठिनाई भएको, फसेका ८९ जनाको ज्यान नै जोखिममा पर्ने अवस्था सिर्जना भएको थियो। सो घटनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन समेतलाई मध्यनजर काभ्रेपलान्चोक र सिन्धुली जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुबीच टेलिफोन संवाद भएको थियो।
हिजो घटनापछि रातको समयमा गाडी चलाउन रोक लगाईएको हो।













