नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी, गत आर्थिक वर्षको यो अवधिसम्ममा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.०३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६६.३५ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २६.२० प्रतिशत र सञ्चालन मुनाफा २८.४२ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा झरेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । बैंकको प्रतिसेयर आम्दानी १.५९ रुपैयाँले घटेर ३.९७ रुपैयाँमा झरेको छ ।
चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ ११५.८४ रुपैयाँ रहेको छ ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ छ । गत चैत मसान्तसम्ममा बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।













