Sunday, April 12, 2026
spot_img
spot_img

नेपालमा पनि सुरु हुँदै सीबीडीसी

spot_img
spot_img

हालसम्म नोट र सिक्काकोरुपमा मुद्रा निष्काशन गरी चलनचल्तीमा ल्याईरहेको नेपाल राष्ट्र बैंकले अब भने डिजिटल मुद्रा निष्काशनको तयारीमा जुटेको छ । नेपाल राष्ट्र बैंकले यसलाई सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) नाम दिएको छ ।
सीबीडीसी नेपालको केन्द्रीय बैंक अर्थात् राष्ट्र बैंकले जारी गर्ने डिजिटल मुद्रा हो । यो भौतिक रुपमा अस्तित्व नहुने मुद्रा हो । त्यसो त अहिले बैंकका एप तथा वालेटमा पनि अनलाईन माध्यममा पैसा रहन्छ तर त्यो वास्तविक डिजिटल मुद्रा नभई कागजी मुद्राकै अनलाईन स्वरुप हो । हाल एप तथा वालेटमार्फत चलाईने मुद्रा डिजिटल माध्यममा भण्डारण गरिएको मात्र हो । अर्थात,् राष्ट्र बैंकले कुनै नयाँ मुद्रा जारी गरेको होईन । अब भने राष्ट्र बैंकले अभौतिक रुपमा रहने नयाँ मुद्रा जारी गर्ने तयारीमा लागेको छ ।

पछिल्लो समय विश्व बजारमा बिटक्वाईन लगायतका क्रिप्टोकरेन्सीको उदयले विश्वका केन्द्रीय बैंकहरुमाथि डिजिटल मुद्रा प्रचलनमा ल्याउन दबाब बढेको छ । क्रिप्टोकरेन्सीको हकमा कुनैपनि संस्थाबाट नियमन नै नहुने भएकोले केन्द्रीय बैंकबाट नियमनसहितको डिजिटल करेन्सी जारी गर्नको लागि विश्वका विभिन्न केन्द्रीय बैंकहरु लागिपरेका छन् । क्रिप्टोकरेन्सीमा देखिएको आकर्षणले डिजिटल करेन्सीको आवश्यकता बढ्दै गईरहेको केन्द्रीय बैंकहरुको बुझाई छ । साथै डिजिटल माध्यमबाट भुक्तानी गर्नेहरुको बढ्दो संख्याले पनि सीबीडीसीको महत्वलाई झनै बढावा दिईरहेको देखिन्छ ।

यसको पूर्व तयारी स्वरूप राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सन् २०२१ मै सीबीडीसीबारे विस्तृत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको थियो । जसमा सीबीडीसी कसरी ल्याउन सकिन्छ ? यसका फाइदाहरु के के हुन सक्छन ? कहिलेसम्म प्रचलनमा ल्याउन सकिन्छ ? कसरी ल्याउन सकिन्छ ? लगायतका विषय समावेश थिए । जसमा सीबीडीसीका फाईदामध्ये मुद्रा छाप्ने तथा मुद्रा व्यवस्थापनको खर्च घट्ने, डिजिटल साक्षरता बढ्ने, वित्तीय समावेशीता बढ्ने, भुक्तानी प्रणाली सहज हुने लगायत विषय समावेश थिए । त्यस्तै यससम्बन्धी पूर्वाधार निजी क्षेत्रले बनाएमा त्यसको शुल्क अन्ततः सर्वसाधारणले नै बेहोर्नुपर्ने भएकोले पनि भुक्तानी खर्च शुन्य नै बनाउन पनि केन्द्रीय बैंक आफैले प्रणाली बनाउनु पर्छ भनेर लागिपरेको हो ।
नेपाल राष्ट्र बैंकले यस कार्यलाई प्राथमिकतामा राखेर वि.सं २०८० जेठ १ गते सीबीडीसी महाशाखा गठन ग¥यो । २०८० साउन १ गतेदेखि विधिवत् रुपमा काम थालेको महाशाखामा राष्ट्र बैंकको पेमेन्ट सिस्टम विभागका निर्देशकको नेतृत्वमा १० जना कर्मचारी कार्यरत छन्, जसमा अधिकांश प्राविधिक कर्मचारी रहेका छन् ।

महाशाखा प्रमुख रहेका निर्देशक कृष्णराम धुँजूका अनुसार सन् २०२६ को अन्त्यसम्ममा राष्ट्र बैंकले सीबीडीसीको पाईलट अर्थात् परीक्षण गर्ने कार्ययोजना छ । सानो समूहमा हुने सो परीक्षणले सिस्टमको प्रभावकारिता, आम जनमानसको प्रतिक्रिया, सिस्टममा आउनसक्ने कमी–कमजोरी र त्यसको समाधान तथा सुरक्षाको पाटो कतिको मजबुत छ लगायतका विषय अध्ययन गर्न सघाउँछ । सुरुवाती चरणमा होलसेल सीबीडीसी ल्याउने र त्यसको नतिजाको आधारमा रिटेल सीबीडीसीतर्फ जाने राष्ट्र बैंकको तयारी छ । होलसेल सीबीडीसी राष्ट्र बैंकले आफु र बैंक तथा वित्तीय संस्थाले मात्र प्रयोग गर्ने गरी प्रचलनमा ल्याईनेछ । होलसेल सीबीडीसी आम सर्वसाधारणले प्रयोग गर्न पाउँदैनन् । होलसेल सीबीडीसी पाईलट गरेपछि त्यसको नतिजाको आधारमा रिटेल सीबीडीसी ल्याउने राष्ट्र बैंकको तयारी छ । जुन आम सर्वसाधारणको प्रयोगको लागि हुनेछ ।

अहिले राष्ट्र बैंकले विदेशका विभिन्न केन्द्रीय बैंक, नेपालका बैंक तथा वित्तीय संस्था, उद्योगी, व्यापारी, भुक्तानी सेवा प्रदायक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतसँग निरन्तर छलफल गरिरहेको छ । यिनै छलफलको आधारमा राष्ट्र बैंक पहिले होलसेल सीबीडीसी ल्याउने निष्कर्षमा पुगेको हो । जसको प्रोटोटाईप पनि तयार भईसकेको छ । अब सरोकारवालाहरुसँग छलफल गरेर सो प्रोटोटाईपमा आवश्यक परिमार्जन गरिने निर्देशक धुँजू बताउँछन् ।

साईबर सुरक्षा प्रमुख चुनौती
हाल कागजी नोट प्रचलनमा रहेको बेलामा पनि नक्कली कागजी नोटहरु बेला बखत बजारमा भेटिने गरेका छन् । त्यस्तै चुनौती सीबीडीसीको हकमा पनि रहन्छ । प्रविधिको विकाससँगै सिस्टममा पहुँच राखेर राष्ट्र बैंकको प्रणाली बाहिरबाट सीबीडीसी जारी हुनसक्ने अवस्था नआओस् भनेर सीबीडीसी पाईलट गर्नुअघि राष्ट्र बैंकले सुरक्षाको विषयमा पर्याप्त तयारी गरेको छ । यदि राष्ट्र बैंकले १ अर्बको सीबीडीसी जारी गरेको छ र कसैले प्रणाली बाहिरबाट त्योभन्दा बढीको सीबीडीसी जारी गरिदियो भने त्यसले वित्तीय प्रणालीमै ठूलो असर गर्छ । यस्तो नहोस् भनेर राष्ट्र बैंकले विशेष सावधानी अपनाएर सानो स्केलमा सीबीडीसीमा पाईलट गर्न लागेको हो । सो सिस्टमको कार्यान्वयनमा आउनुअघि भल्नरेबिलिटी एसेसमेन्ट, पेनिट्रेसन टेस्टिङ र विभिन्न प्राविधिक परीक्षण गरिने छ । जसले सिस्टममा केही प्राविधिक कमी कमजोरी भएमा सुधार र समस्याको समाधान गर्न सहयोग पुग्नेछ ।

अरु देशको अभ्यासबाट सिक्दै
निर्देशक धुँजूका अनुसार अहिले राष्ट्र बैंकले विभिन्न देशको अनुभव र भोगाईबाट सिकेर सीबीडीसीको तयारी गरिरहेको छ । राष्ट्र बैंकले गरेको प्रारम्भिक अध्ययनमा होलसेल र रिटेल सीबीडीसीको अवधारण थिएन । तर, सीबीडीसी ल्याईसकेका देशहरुको अनुभवको आधारमा नेपालमा पनि होलसेल सीबीडीसी ल्याउने तयारी भएको हो । होलसेल सीबीडीसीमा फरक फरक प्लेटफर्म र प्रविधि प्रयोग गर्न सकिनेतर्फ पनि राष्ट्र बैंकले अध्ययन गरिरहेको छ । यो विषय अन्य देशले गरेको कामको अनुभवको आधारमा आएको हो । सीबीडीसी प्रचलनमा ल्याएका देशहरुसँग विभिन्न छलफल तथा अनुभव र ज्ञान आदानप्रदानको कार्य भईरहेको राष्ट्र बैंकको भनाई छ ।

भण्डारण र लिमिट
नेपाल राष्ट्र बैंकले जारी गर्ने सीबीडीसी वालेटमा रहन्छ । वालेट कस्तो हुने भनेर राष्ट्र बैंकले स्ट्यान्डर्ड डेभलपमेन्ट किट निर्माण गर्नेछ । सोही अनुसार बैंकहरु र भुक्तानी सेवा प्रदायकले आफ्नो एपमा वा छुट्टै एपमा सीबीडीसीलाई आबद्द गर्नेछन् । यसो हुँदा कुनै एउटा बैंकको वा कुनै एउटा भुक्तानी सेवा प्रदायकको एप हुनेले पनि आफ्नो एपमा सीबीडीसी भण्डारण गर्नसक्छ ।

सुरुमा होलसेल सीबीडीसी जारी गर्ने राष्ट्र बैंकको तयारी भएकोले कति रकम बराबरको सीबीडीसी जारी गर्ने भन्ने विषय बैंक तथा वित्तीय संस्थाको माग अनुसार तय गरिने निर्देशक धुँजूको भनाई छ । उनका अनुसार कसैले सीबीडीसीलाई कागजी मुद्रामै फिर्ता चाह्यो भने रिडेम्प्सनको व्यवस्था पनि गरिनु पर्ने हुनसक्छ । साथै एकपटकमा कति रकमको कारोबार गर्ने, एकदिनको कारोबारको लिमिट, मसिक र वार्षिक लिमिट जस्ता विषय पाईलट गर्ने समयमै तय गर्ने राष्ट्र बैंकको तयारी छ ।

कुनकुन देशमा छ सीबीडीसी ?
अमेरिकी थिंक ट्याङ्कको रुपमा रहेको एटलान्टिक काउन्सिलको जियोईकोनोमिक सेन्टरले विश्वका १३७ देशमा सीबीडीसीको अवस्था ट्रयाक गर्ने गरेको छ । काउन्सिलको सन् २०२५ जुलाईसम्मको तथ्यांक अनुसार अहिले बाहमास, जमैका र नाइजेरियामा सीबीडीसी जारी भईसकेको छ । त्यसो त सन् २०२२ को अन्त्यसम्ममा ११ देशले सीबीडीसी जारी गरेका भएपनि इक्वेडर र सेनेगलले त्यसलाई निरन्तरता दिएनन् ।

हाल छिमेकी मूलुक भारत र चीनसहित विश्वका ४९ देशले सीबीडीसीको पाईलट अर्थात् परीक्षण गरिरहेका छन् । जसमध्ये फ्रान्स, रसिया, ब्राजिलजस्ता ठूला अर्थतन्त्र पनि रहेका छन् । नेपालसहित पाकिस्तान, बंगलादेश लगायतका ३६ देश सीबीडीसीको तयारी र अध्ययनको चरणमा छन् । श्रीलंका, मेक्सिको, कोलम्बिया सहित विश्वका २० देशले सीबीडीसीको विकास गरिरहेका छन् । अमेरिका भने तत्कालै सीबीडीसी जारी गर्ने योजनामा देखिँदैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मै सीबीडीसी जारी गर्न नपाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

(बिजनेशपाना म्यागेजिनको पछिल्लो अंकबाट साभार)

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

गहुँ र चैते धानको समर्थन मूल्य तोकियो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको...

भाटभटेनीलाई चितवनका सिडीओको मर्मस्पर्शी सन्देशः खुसीको पलमा साक्षी बन्ने नैतिक हक मसँग छैन

जेन् जी आन्दोलनका क्रममा आगजनीमा परेको भाटभटेनी सुपरमार्केटको चितवनस्थित...

कतारी राजपरिवारकी सदस्यको प्रमुख आतिथ्यतामा ‘एनवाईईएफ काठमाडौँ समिट’ सम्पन्न

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौँ च्याप्टरले ‘एनवाईईएफ काठमाडौँ...

काठमाडौँमा गाडी चढ्नासाथ २४ रुपैयाँ भाडा, बागमती प्रदेशभित्र कहाँबाट कहाँ पुग्न कति ?

बागमती प्रदेशभित्र पनि सार्वजनिक यातायातको भाडा बढेको छ ।...

यी हुन् लेखा समितिका २६ सांसद, वर्षमान पुनदेखि खुश्वु ओलीसम्म

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...

प्रतिनिधिसभामा अर्थ समिति गठन, यी हुन् २६ सदस्य

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न विषयगत समिति गठन भएका छन् ।...
spot_img