नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एसोसियटतर्फ युवा व्यवसायी सचिन ढकाल दुबै समूहको साझा उम्मेदवार बनेका छन् । एसोसियट तर्फको उपाध्यक्षमा प्रबलजंग पाण्डे र ज्योत्सना श्रेष्ठ प्यानलसहित मैदान उत्रिँदा उनी भने दुबै समूहको साझा उम्मेदवार बनेका हुन् ।
एसोसियट तर्फबाट १९ जना केन्द्रीय निर्वाचित हुने प्रावधान रहेकोमा ३७ जनाको उम्मेदवारी परेको छ । दुइ समूहले प्यानलसहित उम्मेदवारी दिएपनि ढकाल भने दुबै समूहका साझा उम्मेदवार बन्न सफल भएका हुन् ।
पाण्डे र श्रेष्ठ दुबै समूहले ढकाललाई आफ्नो समूहको उम्मेदवार भन्दै उनको आगमनले आफ्नो समूह बलियो बनेको दाबी गरेका छन् । ढकाल महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा भएकाले पनि उनलाई दुबै समूहले भित्र्याउन निकै पहल गरेका थिए ।
‘महासंघको एसोसियट तर्फको निर्वाचन उपाध्यक्षका उम्मेदवार ज्योत्सना श्रेष्ठको समूहमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकालको प्रवेशसँगै यो समूह थप बलियो र शसक्त बन्न पुगेको छ’ श्रेष्ठ समूहले दाबी गरेको छ ।
उता पाण्डे समूहले पनि सचिन आफूहरुको समूहमा रहेको बताएको छ । श्रेष्ठ समूहले भन्दा पहिले नै पाण्डे समूहले सचिनलाई आफूहरुको आधिकारिक उम्मेदवार भनेको थियो । तर, पाण्डे समूहको सामूहिक तस्बिरमा भने सचिन देखिएका थिएनन् । श्रेष्ठ समूहको सामूहिक तस्बिरमा भने सचिन देखिएका छन् ।
युवा व्यवसायी ढकाल होटल तथा पर्यटन व्यवसायसहित खेलकुदमा पनि आवद्ध छन् ।
यस्तो छ पाण्डे समूहः
अविज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, डोलराज अधिकारी, दिवस न्यौपाने, हेमन्त गोल्छा, इश्वर जीसी, जुना माथेमा, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, सचिन ढकाल, शक्तिकुमार बेगानी, सुशील थापा, सुयश प्याकुरेल, सुरज उप्रेती र उज्वल श्रेष्ठ
यस्तो छ श्रेष्ठ समूहः
अविनाश बोहोरा, अम्बिका शर्मा लामिछाने, गोपाल खनाल, चन्द्र ढकाल, जमुना पौडेल, जश श्रेष्ठ, देशबन्धु बस्नेत (अजित), ई। विनोद ढकाल, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, राम राजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, शैलेन्द्र गुरागाइ, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया)












