नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालको टिमसँग अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अटोमोबाइल्समा लाग्दै आएको कर घटाउन चाहेको बताएका छन् । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा अर्थमन्त्रालय पुगेको अटोमोबाइल्स व्यवसायीहरुको टोलीसँग मन्त्री वाग्लेले सरकारले राजश्वमा वृद्धि हुने गरी करका दर घटाउन चाहेको बताएका हुन् ।
‘सरकार राजश्व संकलनमा कसरी वृद्धि ल्याउने भन्ने सम्बन्धमा विचार गरिरहेको छ । राजश्व बढ्ने गरी करका दरहरु पनि घटाउन चाहेको छ’ उनले भने, ‘राजश्वको दायरा विस्तार गर्न हामी लागेका छौँ । बजेटबाट धेरै कुरा आउने छन् । हामी नीजिक्षेत्र मैत्री नीति ल्याएर कार्यान्वयन गर्नेछौँ ।’
उनले आउँदो बजेटका सन्दर्भमा नाडासँग पुनः छलफल गर्ने पनि बताएका छन् ।
नाडाका अध्यक्ष उप्रेतीले नेपालको अटोमोवाइल क्षेत्रलाई माथी उठाउन वर्तमान सरकारबाट आवश्यक नयाँ नीति नियमहरु आउने अपेक्षा रहेको बताउदै यसबाट सरकारले प्राप्त गर्ने राजश्वमा पनि वृद्धि हुने र रोजगारी पनि बढ्ने बताएका छन् । उनले नेपालमा अटोमोवाइल उद्योग फष्टाउनका लागि आयातित कच्चा पदार्थहरुमा छुट दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।
अध्यक्ष उप्रेतीले टायर, ट्यूव, ब्याट्री, लुविकेण्टस् र हेलमेट जस्ता विभिन्न अटोमोवाइल वस्तुहरु नेपालमै उत्पादन भईरहे पनि त्यसको गुणस्तर मापन गर्ने यन्त्रहरु सरकारसँग नभएकोले व्यवसायीहरुले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको बताए । उनले नाडाको नाडाको तर्फबाट ३६ बुँदे लिखित राय सुझावहरु समेत पेश गरेका छन् ।
सो छलफलको क्रममा नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले नेपालमा अटोमोवाइल कम्पोनण्ट उद्योगहरुको ठूलो सम्भावना रहेकोे बताएका छन् ।
नाडाका विशिष्ट सल्लाहकार राजनबाबु श्रेष्ठले लगानी मैत्री नीति नियमहरुको खाँचो रहेको भन्दै नेपालमा विद्युतीय सवारी साधनहरुको सम्बद्र्धन र प्रवद्र्धनका लागि आवश्यक नीतिहरुको बारेमा चर्चा गरेका थिए । उनले भारतमा जि.यस.टि घटेकोले चोरी निकासी बढेको भन्दै सीमा क्षेत्रमा कडाई गर्नुपर्ने धारणा पनि राखेका छन् ।
छलफलमा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, अभिक ज्योति, महासचिव मिलनबाबु मल्ल, कोषाध्यक्ष पंकज अग्रवाल र सहकोषाध्यक्ष निलमणी पाठक समेतकोे उपस्थिति रहेको थियो ।












