इन्धनको मूल्य बढ्दै गएपछि भुटान सरकारले ठूलो कदम चालेको छ। प्रधानमन्त्री छिरिङ तोब्गेको कार्यालयबाट जारी Executive Order अनुसार, सबै सार्वजनिक क्षेत्रका निकायहरूलाई तुरुन्तै “वाक टु अफिस” (कार्यालय हिँडेर जान) र “रिमोट वर्क” (घरबाट काम गर्न) निर्देशन दिइएको छ।
आदेशमा भनिएको छ: “इन्धनको बढ्दो लागत र यसले राष्ट्रिय अर्थतन्त्रमा पार्ने प्रभावलाई ध्यानमा राख्दै, रोयल सरकारले सबै सार्वजनिक क्षेत्रका एजेन्सी, मन्त्रालय, संवैधानिक निकाय, न्यायपालिका, स्थानीय सरकार, स्वायत्त संस्था, DHI कम्पनी, रोयल मोनेटरी अथोरिटी, राज्य स्वामित्वका उद्यम र वित्तीय संस्थाहरूलाई इन्धन खपत घटाउन तुरुन्त ‘वाक टु अफिस’ र ‘रिमोट वर्क’ सुरु गर्न निर्देशन दिन्छ।”
Royal Civil Service Commission (RCSC) ले यी दुवै कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक दिशानिर्देश तयार पार्ने र जारी गर्ने जनाएको छ। यसबाहेक, सरकारले सार्वजनिक निकायहरूलाई अनावश्यक यात्रा नगर्न र शारीरिक भेला भन्दा भर्चुअल बैठकहरूलाई प्राथमिकता दिन आग्रह गरेको छ। निजी क्षेत्रलाई पनि इन्धन बचतका लागि यस्तै उपाय अपनाउन प्रोत्साहित गरिएको छ।
यो कदम हालै इन्धनको मूल्य वृद्धिपछि आएको हो। प्रधानमन्त्री तोब्गेले हस्ताक्षर गरेको यो आदेशलाई भुटानका विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा व्यापक चर्चा गरिएको छ। कैयन् मन्त्री र कर्मचारीहरूले “वाक टु वर्क” को उदाहरण दिइसकेका छन्। सरकारले यसलाई राष्ट्रिय प्रयासको रूपमा अघि बढाएको छ।
यो पहलले इन्धन बचतका साथै स्वास्थ्य प्रवर्द्धन र ट्राफिक कम गर्न पनि मद्दत गर्ने अपेक्षा गरिएको छ।












