नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर अफ कमर्सले गौरवशाली ७५ औँ वार्षिकोत्सव (डायमण्ड जुबिली) मनाउन पाउनुमा सबै उद्यमी व्यवसायीहरुको साथ, विश्वास र सहयोगको प्रतिफल भएको बताएका छन् । धन्यवाद मन्तव्यको क्रममा उनले नेपाल चेम्बर अफ कमर्सलाई हाल देशको आर्थिक विकास, निजी क्षेत्रको सुदृढीकरण तथा व्यावसायिक वातावरणको प्रवर्द्धनमा एक महत्वपूर्ण र विश्वासिलो संस्थाका रूपमा स्थापित गरेको बताएका छन् ।
हालसम्म चेम्बर र नेपालको निजी क्षेत्रले हासिल गरेका उपलब्धिहरु सबैका सामूहिक प्रयास, प्रतिवद्धता र समर्पणको प्रतिफल भएको उनको भनाइ छ । निवर्तमान अध्यक्ष मल्लले आगामी दिनमा चेम्बरले व्यवसाय सुधार, प्राकृतिक स्रोतको दिगो प्रयोग र निर्यात प्रवर्द्धनमा विशेष भूमिका निर्वाह गर्ने पनि बताएका छन् । कृषि, सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता क्षेत्रमा निर्यात प्रवर्द्धनलाई प्राथमिकता दिने र साना तथा मध्यम उद्यमको प्रवर्द्धन र व्यवसायिक वातावरणमा सहजता तथा सुविधा सुनिश्चित गर्ने कार्यमा चेम्बर निरन्तर सक्रिय रहने मल्लको भनाइ छ ।
चेम्बरले विभिन्न क्षेत्रमा विशिष्ठ योगदान दिएका ७५ जना महिलाहरुलाई सम्मान गरेको छ । यस सम्बन्धमा निवर्तमान अध्यक्ष मल्लले महिलाहरुको भूमीका केवल परिवारमा मात्रै सिमित नरही राष्ट्र निर्माणमा समेत नेपाली महिला दिदीबहिनीहरुको उल्लेख्य भूमीका रहँदै आएको र भविष्यमा समेत रहने बताएका छन् । उनले महिलाहरुलाई समान अवसर प्रदान गर्नुपर्ने बताउँदै यसको सुनिश्चितता प्रदान गर्न सकिए नेपालको समग्र विकास अझ तीव्र र दीगो बन्ने समेत विश्वास व्यक्त गरेका छन् ।
उनले चेम्बरको ७५ औँ वार्षिकोत्सव समारोहलाई सफल, प्रभावकारी र स्मरणीय बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैलाई धन्यवाद दिँदै सबैको निरन्तर साथ, सुझाव र सकारात्मक ऊर्जा नै आगामी यात्राको प्रेरणाको स्रोत भएको पनि उल्लेख गरेका छन् ।












