अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आज बिहान अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट आर्टेमिस II मिसनको प्रक्षेपण गरेको छ। अमेरिकाको फ्लोरिडास्थित केन्नेडी स्पेस सेन्टरबाट नेपाली समयअनुसार बिहान ४:२० बजेतिर आर्टेमिस २ मिशन सफलतापूर्वक प्रक्षेपण भएको हो।
यो मिसन १९७२ मा अपोलो १७ पछि चन्द्रमातर्फ गरिएको पहिलो मानवयुक्त अन्तरिक्ष यात्रा हो । अर्थात् ५३ वर्षपछि फेरि चन्द्रमाको यात्रा थालिएको हो, यसले भावी चन्द्रमा बस्ती र मंगल ग्रहसम्मको यात्राको आधार तयार पार्ने बताईएको छ । यो नासाको आर्टेमिस कार्यक्रमको दोस्रो चरण हो । यसमा स्पेस लन्च सिस्टम (SLS) रकेट र ओरियन स्पेसक्राफ्टको पहिलो पटक मानवसहितको परीक्षण गरिएको हो।
मिसनको मुख्य उद्देश्य ओरियन यानको जीवनरक्षा प्रणाली, नेभिगेसन र गहिरो अन्तरिक्षमा सुरक्षित उडानको जाँच गर्नु हो । यो चन्द्रमामा अवतरण नगरी फ्लाईबाई (चन्द्रमाको नजिकबाट उडान) मात्र हो ।
नासाले नेतृत्व गरेको यो मिसनमा क्यानडियन स्पेस एजेन्सी (CSA) सँगको सहकार्य छ । चालकदलमा चार जना अन्तरिक्षयात्री छन् :
कमान्डर : रिड वाइजम्यान (NASA)
पाइलट : भिक्टर ग्लोभर (NASA)
मिसन स्पेसियलिस्ट : क्रिस्टीना कोच (NASA)
मिसन स्पेसियलिस्ट : जेरेमी ह्यान्सेन (CSA, क्यानडा)
अपोलो कार्यक्रमपछि चन्द्रमा मानव यात्रा रोकिएको थियो । अब आर्टेमिस कार्यक्रमले चन्द्रमामा दिगो उपस्थिति बनाउने लक्ष्य राखेको छ। यसले वैज्ञानिक अनुसन्धान, चन्द्रमाको स्रोत (जस्तै पानीको बर्फ) उपयोग र भावी मंगल यात्राको तयारी गर्नेछ । चीनले पनि २०३० सम्म चन्द्रमामा मानव पठाउने योजना बनाएकाले यो अन्तरिक्ष दौडको नयाँ अध्याय पनि हो ।
यो मिसन १० दिनको हुनेछ । रकेट प्रक्षेपण भएपछि ओरियन यान पृथ्वीको परिक्रमा गर्दै चन्द्रमातर्फ लागेको छ। चन्द्रमाको ७ हजार किलोमिटरभन्दा टाढा (फार साइड) बाट उडान गरेर फर्कनेछ । यो यात्रा ६ लाख ८५ हजार माइल (११ लाख किलोमिटरभन्दा बढी) लामो हुनेछ । चन्द्रमामा अवतरण हुने छैन ।
यसमा चार जना अन्तरिक्षयात्री गएका छन्। मिसन सफल भएमा अप्रिल १०, २०२६ मा प्रशान्त महासागरको किनार (सान डिएगो नजिक) मा स्प्ल्यास डाउन (पानीमा अवतरण) गर्नेछन् ।
यो SLS रकेट विश्वको सबैभन्दा शक्तिशाली अपरेटिङ रकेट हो । मिसनले भावी आर्टेमिस III (२०२८ मा चन्द्रमा अवतरण) को लागि आधार तयार पार्नेछ । चालकदलले यात्राभरि ओरियन यानलाई म्यानुअल रूपमा पनि नियन्त्रण गर्नेछन् । यो मिसनले अन्तरिक्षमा मानव जीवनरक्षा प्रविधिको नयाँ युग सुरु गर्ने विश्वास लिइएको छ।













