अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले खोजेको राजनीतिक स्थिरता प्राप्त भएकोले अब आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटमा मन्त्री वाग्लेले बलियो सरकार बनेकोले जनताको ठूलो आसा र भरोसा रहेको उल्लेख गर्दै यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्नु पर्ने बताएका हुन्।
उनले निजी क्षेत्रले उठाएका मुद्दाहरु सम्बोधन हुन सुरु भईसकेकोले इमानदारीपूर्वक उद्योग र व्यापार गर्न मन्त्री वाग्लेले आग्रह गरे । उनले भने ‘ हामी बजेटबाट केही फरक सम्बोधन गर्दैछौ । निजी क्षेत्रमुखी आर्थिक वातावरण बनाउन आएको पहिलो दिन नै हामीले १५ वटा कानुन खारेज गरेर सरकार र हाम्रो पार्टी निजी क्षेत्रप्रति उदार र सहयोगी छ भन्ने सन्देश दिइसकेको छ। हामी उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्ने हो तर उदारको अर्थ छाडा हुनलाई भने हामी नियमन गर्ने नै हो । निजी क्षेत्रका साथीहरू इमानदारीपूर्वक उद्योग र व्यापार गर्नुस् हामी दिल खोलेरै सहयोग गर्छौँ।’
नमूना औद्योगिक पार्क बनाउने र त्यसलाई सहजीकरण गर्न निजी क्षेत्रको मागमा अर्थमन्त्री वाग्लेले कुनै बहुराष्ट्रिय ठूलो कम्पनी वा त्यसको लगानी भित्र्याएर लगानी मैत्री वातावरण बनाउन पहल थाल्न आग्रह गरे। यसमा सरकारले सबै खाले सहयोग गर्ने उनले बताए।
उनले भने ‘स्वदेशी,ठूला र बहुराष्ट्रिय कम्पनीको लगानीको सुरक्षामा सरकार प्रतिवद्ध छ । सबैखाले सहयोग हामी गर्छौं । लगानी गर्न तपाईंहरु उत्साहित हुनुस् । विदेशी लगानी ल्याउने वातावरण बनाउनुस् ।’













