इरानको सर्वोच्च नेतामा सय्यद मोज्तबा होसेनी खामेनी नियुक्त भएका छन् । अमेरिका र इजरायलको संयुक्त हमलामा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा सय्यद मोज्तबा होसेनी खामेनीलाई नयाँ सर्वोच्च नेता नियुक्त गरिएको हो ।
८८ जना धर्मु गुरुहरुको सभा (एसेम्ब्ली अफ एक्सपर्ट्स)ले आइतबार मतदानबाट मोज्तबा खामेनीलाई इस्लामिक गणतन्त्र इरानको तेस्रो सर्वोच्च नेता चयन गरेको हो ।
अहिले पनि युद्ध जारी नै छ । सर्वोच्च नेताको पद इरानको सबैभन्दा शक्तिशाली पद मानिन्छ । यस पदमा रहने व्यक्तिसँग राज्यका सबै प्रमुख निर्णयमा अन्तिम अधिकार हुन्छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ सर्वोच्च नेता चयनमा अमेरिकाको पनि भूमिका हुनुपर्ने बताउँदै आएका थिए । खामेनीकै छोरा मोज्तबा नयाँ सर्वोच्च नेता चयन भएपछि ट्रम्पले इरानको नयाँ नेतृत्व अमेरिकाले स्वीकार गर्ने खालको हुनुपर्ने तर, त्यो नभए नयाँ नेतृत्व पनि धेरै नटिक्ने चेतावनी दिएका छन् ।












