समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १३ हजार ऋणीको सम्पत्ति रोक्का राखेको छ । सहकारीबाट ऋण लिएर नतिर्ने १३ हजार ऋणीको चल र अचल सम्पत्ति रोक्का राखिएको समितिले जनाएको छ ।
समितिले समस्याग्रस्त घोषित भएका सहकारी संस्थाका १३ हजार ऋणी सदस्यको बैंक खाता, सेयर तथा अचल सम्पत्ति रोक्का गरेको हो ।
समितिका अनुसार रोक्का राखिएको सम्पत्ति जफत गरी लिलाम गरेर बचतकर्तालाई रकम फिर्ता गरिनेछ । तर, यसरी रोक्का राखिएका चल अचल सम्पत्ति जफतमार्फत पनि बचतकर्ताको पैसा फिर्ता गर्न रकम नपुग्ने समितिको भनाइ छ ।
समितिका अनुसार ७४ हजार ३०७ जना बचतकर्ताबाट ४४ अर्ब ४८ करोड ९० लाख ५ हजार ६२६ रुपैयाँ रकम बचत मागदाबी पेश हुन आएकोमा हालसम्म ४ अर्ब १२ करोड ६६ लाख ५ हजार ६५४ रुपैयाँ बचत फिर्ता र मिलान कार्य सम्पन्न भएको छ ।












