अहिले काठमाडौँको बुढानिलकण्ठस्थित गणेश चोकमा रहेको सब्रिना होटेल धमाधम ‘पाँच तारे’ स्ट्यान्डर्डमा स्तरोन्नति भइरहेको छ। होटेल सब्रिना लिमिटेडले सञ्चालन गरिरहेको यो होटेल अबको १५ महिनामा स्तरोन्नति सम्पन्न हुनेछ । त्यसपछि ११० वटा कोठासहित सुविधा सम्पन्न होटेलको रुपमा सञ्चालनमा आउनेछ ।
स्तरोन्नतिपछि होटेलमा ३ वटा रेस्टुरेन्ट रहने छन्, रुफटपमा रहने रेस्टुरेन्ट शहरकै सबैभन्दा ठूलो रुफटप रेस्टुरेन्ट मध्येको एक हुनेछ । कोठाको औसत आकार नै ३० वर्ग मिटर हुने गरि स्तरोन्नति भइरहेको छ। स्वीमिङ पुल, हेल्थ क्लब, स्पा, जिम लगायतका सुविधा त हुने नै भइहाले । स्तरोन्नतिपछि होटेलको व्यवस्थापनमा विश्व विख्यात युरोपियन ब्राण्ड ल्याउने तयारी कम्पनीको छ । त्यसका लागि प्रारम्भिक सम्झौता समेत भइसकेको छ।
यो होटेल अहिले तेस्रो पटक स्तरोन्नति हुन लागेको हो । होटेलका अध्यक्ष निराजन थापाले यसअघि नै पनि पाँच तारे स्ट्यान्डर्डको होटेल निर्माण गर्न सक्थे । तर उनले सानो स्केलबाट सुरुवात गरेर क्रमशः बढाउदै लैजाने रणनीति लिए । सुरुमा होटेल निर्माण र सञ्चालन गर्दाका अनुभव र सिकाई बटुल्दै उनी यसमा खारिंदै गए । समय नतोकी ठूला र महत्वाकांक्षी लक्ष्य लिएर अघि बढ्नु भन्दा निश्चित समयको लागि निश्चित उदेश्य तोकेर अघि बढ्दा सफल भईन्छ भन्ने मान्यता राख्छन् निराजन थापा । यहि मान्यताअनुसार काम गर्दै, त्यसको अनुभवबाट सिक्दै अगाडि बढिरहेका छन् उनी ।

रियल स्टेट व्यवसायी रहेका थापाले आतिथ्य सत्कारमा ठूलो सम्भावना र अवसर देखे । स्वदेशी तथा विदेशी पर्यटकलाई उचित मूल्यमा आतिथ्य सेवा प्रदान गर्ने उदेश्यले थापाले सन् २०१६ मा होटेल निर्माण थालेका हुन् ।
रियल स्टेटमा खारिएका थापाले २ वर्षभन्दा पनि कम अवधिमै होटेल निर्माण सम्पन्न गरेर सन् २०१८ बाट सञ्चालनमा ल्याएका थिए । त्यतिखेर होटेलमा ४० कोठा र दुई वटा रेस्टुरेन्ट थियो । कलश हस्पिटालिटीले व्यवस्थापन सम्हालेको थियो ।
लगतै विश्वभर देखा परेको कोभिड महामारीले उनको होटेल पनि अछुतो रहेन । सेवा सुरु गरेको एक वर्ष पनि नपुग्दै कोभिडका कारण व्यवसाय सुस्तायो । तर निराजन थापाले हार मानेनन्, उनले अर्को एउटा निर्णय लिए । होटेलसँगै रहेको अर्को एउटा विल्डिङ भत्काएर होटेलको रुम क्षमतालाई ६२ पुर्याउने र व्यवस्थापनको लागि भारतीय होटेल चेन ल्याउने । यो होटेलको दोस्रो स्तरोन्नति थियो । त्यो पनि निर्धारित समयभन्दा पहिल्यै नै सम्पन्न भयो । चार तारे स्ट्यान्डर्डलाई न्युनतम ८० कोठा चाहिने थियो, स्थान अभावको कारण त्यो पूरा भएन । तर, अरु सबै सेवा सुविधा चार तारे स्तरकै उपलब्ध छ । भारतीय चेन ल्याएपछि सो कम्पनीले नै होटेल व्यवस्थापनको लागि महाप्रबन्धक पठायो ।

चार तारेकै स्तरमा सेवा दिएकोले सञ्चालन खर्च बढ्दो थियो, र प्रतिस्पर्धा पनि बढ्दो थियो । त्यसका बाबजुद दोस्रो स्तरोन्नतिपछि होटेलले वर्षिक १० प्रतिशतको ग्रोथ गरेको अध्यक्ष थापाको भनाई छ। तर उनको लक्ष्य थियो कम्तिमा वर्षिक ३० प्रतिशत ग्रोथ गर्ने । रेस्टुरेन्टको आकार बढाएमा व्यवसाय बढ्ने उनले देखे । त्यसको लागि थापा योजना बनाउन थाले । त्यसैबेला उनकी छोरी सब्रिना पनि बेलायतबाट बिजनेश विषय मै उच्च शिक्षा हाँसिल गरेर नेपाल फर्किईन् । नेपाल फर्किएपछि छोरीले पनि उनलाई काममा साथ दिन थालिन् । अहिले उनी होटेलको चिफ अपरेटिंग अफिसर र एचआर प्रमुखको भूमिकामा छिन् ।
विदेशमा उच्च शिक्षा अध्ययन गरेर नेपाल फर्किएकी छोरीले पनि साथ दिन थाले पछि निराजन थापालाई ठूलो आँट आयो । उनको छोराले भर्खर एसईई दिएका थिए । व्यवसाय गर्ने परिवारमा हुर्किएपछि उनको छोराले व्यवसायबारे धेरै बुझिसकेको थियो । छोरा छोरी कै सहयोग हुने भएपछि निराजन थापाले होटेलको रेस्टुरेन्टको आकार बढाउने मात्र नभई होटेललाई नै पाँचतारेमा अपग्रेड गर्ने निर्णय लिएका हुन् । जुन हाल तीब्र गतिमा चलिरहेको छ । होटेल अपग्रेडको कार्य भईरहेपनि होटेलले सेवा प्रदान गर्न भने बन्द गरिएको छैन । आवश्यक सुरक्षाका मापदण्ड अपनाएर सेवा प्रभावित नहुने गरि होटेल स्तरोन्नति गरिरहेको अध्यक्ष थापा बताउँछन् ।
अध्यक्ष थापाका अनुसार पाँच तारे स्ट्याण्डर्डको होटेल तयार हुँदासम्म होटेलको लागत २ अर्ब पुग्ने छ । प्रति कोठाको लागत हिसाब गर्दा २ करोड भन्दा पनि कम छ । कुल २ अर्बको लागतमध्ये पनि थापा लगायतका संस्थापक शेयरधनीबाट ५६ प्रतिशत अर्थात् १ अर्ब १३ करोड लगानी भएको छ । बाँकि ८७ करोड एभरेष्ट बैंकले ऋण लगानी गरेको छ । ऋणको ब्याजदर पनि अहिलेसम्मकै कम रहेको थापाको भनाइ छ ।

कम्पनीले आईपीओ निष्काशनको पनि तयारी गरिरहेको छ । कम्पनीले जारी पुँजीको ४२ प्रतिशत आईपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । आईपीओको रकम पनि निर्माण कार्यमै प्रयोग हुने छ ।
स्तरोन्नति भएपछि पहिलो वा दोस्रो वर्षबाट नै लाभांश दिन समेत सकिने आँकलन थापाले गरेका छन् । कम लागतमै होटेल निर्माण भएको, शहर कै ठूलो रुफटप रेस्टुरेन्टबाट राम्रो आम्दानी हुने, सस्तो मूल्यमा गुणस्तरीय सेवा सहितको होटेल हुने, होटेलको लोकेशन काठमाडौँ अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलोमिटर दुरीमा मात्र रहेकाले व्यवसाय क्रमशः बढ्दै जाने उनको अपेक्षा छ । यति मात्रै होइन, उक्त होटेलबाट पशुपतिनाथ, स्वयम्भुनाथ, बौद्धनाथ, ठमेल जस्ता स्थान पनि निकै नजिकको दूरीमा पर्छन् । त्यसमाथि होटेल रहेको क्षेत्रमा भीआईपी व्यक्तिहरुको बसोबास छ । यी कारणहरु होटेलको व्यवसायमा सकारात्मक योगदानका लागि काफी हुने देखिन्छ । जसबाट नियमित रुपमा लाभांश प्रदान गर्न सकिनेमा थापा विश्वस्त देखिन्छन् ।

थापाका अनुसार नेपालका होटेलहरुले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता राख्छन्। त्यति पर्यटन नेपालमा केही नगरे पनि आउनु पर्ने उनको बुझाई छ।
होटेलहरुमा व्यवसायीले लगानी गरे पनि सरकारले पूर्वाधार विकासमा लगानी नगर्दा सोंचे जति पर्यटक आउन नसकेको उनको भनाई छ । पर्यटक आउन पर्याप्त र गुणस्तरीय पूर्वाधार बन्नुपर्ने उनको भनाइ छ । काठमाडौँ-निजगढ फास्ट ट्रयाक निर्माण हुन सके, अनि नेपाल राष्ट्र बैंकका गभर्नरले भने झैँ पोखरा-काठमाडौँ द्रुतमार्ग, पोखरा-बुटवल द्रुतमार्ग छिट्टै बनाउन सकेमा देशमा धेरै बढ्न सक्ने उनको बुझाई छ । देशभर सडकको राम्रो सञ्जाल बन्न सके र पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुनु पर्ने , साथै आन्तरिक उडानमा नेपाली र विदेशीलाई पनि समान भाडा दर कायम गरिनु पर्ने उनी बताउछन्। अतिथ्य सत्कार सेवामै नेपालको भविष्य रहेकोले यसलाई उद्योगकै रुपमा अघि बढाउनु पर्ने उनको भनाइ छ ।
थापाले रिसोर्ट र अपार्टमेन्ट निर्माणको तयारी पनि गरिरहेका छन्।













