नेपाल बीमा प्राधिकरण कोशी प्रदेशको आयोजनमा धनकुटाको शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।स्थानीय तहमा बीमाको बारेमा पहुँच, दाबी प्रक्रिया, अनुदानका व्यवस्था तथा वर्तमान चुनौतीहरू लगायतको बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
अन्तरक्रिया तथा छलफल कार्यक्रम मा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक सचिन राईले बीमाको विभिन्न विषयमा आफनो प्रस्तुतीकरण दिएका थिए । अन्तरक्रियामा सहभागीहरूले सरकारी भवनको बीमाको आधार र दर, अभिकर्तामार्फत हुने सम्भावित ठगी, पशु बीमामा औषधि वितरणका प्रदेशगत फरक व्यवस्था तथा तेस्रो पक्ष मोटर बीमाको दाबी भुक्तानी चरणबद्ध गर्न सकिने–नसकिने जस्ता प्रश्नहरू उठाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि शहिदभूमी गाउँपालिका अध्यक्ष मनोज राईले कृषक तथा सर्वसाधारणसम्म बीमा सम्बन्धी जानकारी पुग्नुपर्ने आवश्यकता औंल्याउँदै बाली, पशु र भवनसमेत सबै संरचनाको बीमा सम्भव रहने जानकारी व्यापक रूपमा फैलाउनुपर्ने बताए । बीमा सुरक्षणको माध्यम भएकाले यसप्रकारका कार्यक्रम उपयोगी रहेको उनले बताए ।
गाउँपालिका उपाध्यक्ष रत्नश्वरीं राईले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रमले समुदायमा ठूलो प्रभाव पर्ने उल्लेख गर्दै मानिस मात्र नभई पशु, बाली र भौतिक संरचनाको बीमा गर्न सुझाव दिईन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारीले बीमा प्रक्रिया तथा पहुँचबारे छोटो समयमा व्यापक जानकारी पाएको बताउँदै यसलाई स्थानीय तहमा पुनः प्रसारण गर्ने प्रतिबद्धता जनाए ।













