नेपाल विद्युत प्राधिकरणले विवादित विद्युत बक्यौता देखाएर धमाधम उद्योगमा लाइन काट्न थालेपछि एकैपटक ५ हजार भन्दा बढी मजदूर/श्रमिक/कामदार रोजगार बिहिन बनेका छन् । ठूला उद्योगहरुमा लाइन काटिएपछि उद्योगहरुले धमाधम कामदारलाई बेतलबी बिदामा पठाएका छन् ।
रुपन्देहीस्थित पञ्चकन्या ग्रुपका सबैजसो उद्योग बन्द छन् । जसका कारण समूहले एकैसाथ १२ सय जनालाई बिदामा राखेको छ । पञ्चकन्या समूहका प्रबन्धक देवेन्द्र साहुका अनुसार अहिले उद्योगले तलब नदिने गरी बिदामा पठाएको भने होइन । तर, उद्योगमा लामो समय लाइन काटिए तलब दिन नसकिने बारे कामदारहरुलाई अवगत गराइएको छ ।
यस्तै, निर्यातबापत राज्यबाटै पटक पटक पुरस्कृत भएको विराटनगरको रिलायन्स स्पिनिङ मिल्समा पनि प्राधिकरणले विवादित बक्यौताको विषयलाई लिएर लाइन काटिदिएको छ । यो उद्योगमा कार्तिक ४ गते (लक्ष्मी पूजाको भोलिपल्ट) लाइन काटिएको थियो । नेपालको सबैभन्दा ठूलो रोजगारदाता मध्येको एक रिलायन्स स्पिनिङ मिल्सले लाइन काटिएपछि एकैपटक ३ हजार ५ सय कामदारलाई अनिश्चितकालिन बिदामा राखेको छ ।
भैरहवाको अर्घाखाँची सिमेन्टले पनि ३ सय कामदारलाई बिदामा राखेको छ । यसमा पनि प्राधिकरणले कार्तिक ४ गते नै लाइन काटेको थियो । रूपन्देहीको सिद्धार्थ पेटप्लास्टले पनि ३५ जना कामदारलाई बेतलबी बिदामा राखेको छ ।
यी बाहेक लाइन काटिएका अधिकांश ठूला उद्योगले कामदारलाई अनिश्चितकालिन र बेतलबी बिदामा राख्न थालेका छन् । ‘अहिलेसम्म ठूला उद्योगहरुबाट ५ हजार १८० जना भन्दा बढी कामदार बिदामा गइसकेका छन्’ एक जना उद्योगीले भने, ‘लाइन नजोडिए हामी सबै कर्मचारीलाई बिदा गर्छौँ र उद्योगको साँचो सरकारलाई बुझाउँछौँ ।’
प्राधिकरणको २ सय मेगावाट बिजुली खेर
ठूला उद्योगहरु प्राधिकरणका ठूला ग्राहक हुन् । उनीहरु धेरै विद्युत् खपत गर्ने उद्योग भएकाले अहिले लाइन काटिँदा त्यसको असर प्राधिकरणलाई पनि परेको छ ।
अहिले लाइन काटिएका उद्योगहरुले दैनिक २ सय मेगावाट विद्युत खपत गर्थे, तर अहिले त्यो बिजुली त्यसै खेर गएको प्राधिकरणका एक अधिकारीले स्वीकार गरेका छन् । ‘लाइन काटिएका उद्योगले दैनिक रुपमा २ सय मेगावाट बिजुली खपत गर्थे, अहिले उक्त खपतबापत हुने आम्दानी प्रभावित भइरहेको छ’ ति अधिकारीले भने, ‘तर, तत्कालको आम्दानी प्रभावित हुन्छ भन्दैमा लाइन नकाटी बस्दा बक्यौता उठ्ने सम्भावना देखिएन । त्यसकारण तत्कालको आम्दानीलाई नहेरी बक्यौता उठाउने प्रयोजनका लागि लाइन काट्नैपर्ने अवस्था आयो ।’
दैनिक २ सय मेगावट बिजुली खेर जाँदा प्राधिकरणले पनि दैनिक साढे ५ करोड हाराहारी नोक्सान ब्यहोरिरहेको ति अधिकारीको स्वीकारोक्ति छ । तर, विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेले भने प्राधिकरणलाई दैनिक ६ करोड नोक्सान भइरहेको बताउँदै प्रधानमन्त्रीले नै समस्याको निकास दिनुपर्ने बताएका छन् ।













